बागलुङ, २१ माघ/बुर्तिबाङ नयाँ शहर आयोजनाको ईलाका प्रहरी कार्यालय बुर्तिबाङदेखि ईलाका प्रसाशन चोकसम्मको शाखा सडक विस्तार र स्तरोन्नतीका लागि ट्रयाक खोल्ने कार्य सुरु गरिएको छ । सडकको दायाँबाँयाका जग्गा धनीहरुले सडकमा पर्ने जग्गा छाड्ने विषयमा सहमती हुन नसक्दा रोकिएको सडक निर्माणको काम स्थानिय रुपमा क्रियाशिल राजनीतिक दलका अगुवाको सहभागीतामा समन्वय गरि काम सुरु गरिएको हो । सडक विस्तार क्षेत्रमा पर्ने २ मिटरको कुलोलाई आधार मानेर त्यसको दायाँबायाँ २÷२ मिटर लिने गरि ६ मिटरको सडक निर्माण गर्ने गरि राजनीतिक दलका प्रतिनिधि र जग्गा धनीको उपस्थितीका सहमती गरेर काम सुरु गरिएको बुर्तिबाङ नगर विकास समितिका अध्यक्ष अर्जुन सेरचनले जानकरी दिए । नयाँ शहर आयोजना अन्तरगत चालु आर्थिक बर्षमा स्वीकृत भएको बजेटबाट शाखा सडक विस्तारको काम गर्ने गरि गत असोजमा धुलिखेल आत्रेय जेभिसँग ठेक्का सम्झौता भएपनि जग्गाा धनीसँग कुरा नमिल्दा अहिलेसम्म काम सुरु हुने सकेको थिएन । जग्गा धनीहरुले आफ्नो जग्गा तथा भौतिक संरचना बचाईदिन नगरविकास समितिमा निवेदन समेत दिएका थिए । निवेदन दिएकामध्ये केही जग्गा धनीसँग छलफल गरिएको र बाँकीसँग छलफल गरेर काम तिब्र रुपमा अघि बढाईने अध्यक्ष सेरचनले बताए । बुर्तिबाङ नयाँ शहर आयोजनाको काम अपेक्षाकृत हुन नसकेर आयोजना फिर्ता हुन सक्ने चर्चा विच विवादित ठाउँमा सहयोग र समन्वय गर्न राजनीतिक दलका प्रतिनिधि रहेको सहयोग समन्वय समिति गठन भएको थियो । नगर विकास समिति, समन्वय समितिका सदस्य, नयाँ शहर आयोजनाका प्राविधिक तथा जग्गा धनीबीच छलफल पछि सडकको मापदण्ड अनुसार काम अघि बढाउने सहमती गरिएको नेकपा माओवादी केन्द्रका नेता चन्द्र अर्यालले जानकारी दिए ।