म्याग्दी, २१ माघ/करीब ३ वर्षअगाडि म्याग्दीको विकासका लागि ‘सेतो हीरा’ भनेर व्याख्या गरिएको ‘म्याग्दीको पर्यटन गुरुयोजना’ अहिले अलपत्र परेको छ । भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक, सामाजिकलगायत विभिन्न पक्षलाई लक्षित गरेर निर्माण गरिएको गुरुयोजनाप्रति सम्बन्धित निकायले चासो नदेखाउँदा अलपत्र परेको हो । पर्यटन मन्त्रालयअन्तर्गतको तारा गाउँ विकास समिति, जिविस म्याग्दी, टोड्के क्षेत्र विकास कोष म्याग्दीको संयुक्त पहलमा बेनी नगरपालिका र ३५ गाविसलाई समावेश गरी करीब १ अर्ब २ करोड रुपैयाँलागत बराबरको गुरुयोजना सार्वजनिक गरिएको थियो । ‘सार्वजनिक गर्ने काम मात्रै भयो, गुरुयोजनामा उल्लेख गरिएका काम भएका छैनन्,’ टोड्के क्षेत्र विकास कोषका अध्यक्ष मोहनबहादुर खत्रीले बताए । उनले म्याग्दी जिल्लाका सम्भावित क्षेत्रमा स्थलगत अनुगमन, स्थानीयवासीसँग छलफल गरी जिल्लास्तरमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएपछि कुनै प्रक्रिया अगाडि नबढेको जानकारी दिए । पर्यटनविद् डा. प्रेम शर्माको टोलीले म्याग्दी जिल्लाको पश्चिम क्षेत्रका १४ गाउँ विकास समिति, मध्यक्षेत्रका १७ गाविस र उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकीलाई समेटेर तयार पारेको गुरुयोजनामा ४ ओटा पदमार्गलाई स्तरवृद्धि तथा थप १० ओटा पदमार्गको विकास गरी त्यहाँ भौतिक पूर्वाधार निर्माण गर्ने उल्लेख छ । त्यस्तै, पर्यटकलाई सहज सूचना उपलब्ध गराउन सदरमुकाम बेनी, घोडेपानी, तातोपानीमा सूचना केन्द्रको स्थापना गरी म्याग्दीलाई ‘टुरिजम हब’ बनाई गरीबी न्यूनीकरणमा सहयोग गर्ने पनि उल्लेख गरिएको छ । वैदेशिक रोजगारीलाई निरुत्साहित गर्न एक घर एक रोजगार, धवलागिरी बेसक्याम्प, मालिकाधुरी, बागलुङ ढोरपाटन हुँदै रोल्पा रुकुमसम्म गुरिल्ला पदमार्गको विकास गर्नुपर्ने योजना समावेश गरी करीब ४ सय पृष्ठ लामो बनाइएको थियो । ती योजनामध्ये गुरिल्ला पदमार्गको काम मात्र सुस्त गतिमा अघि बढेको छ । यता, स्थानीय विकास अधिकारी प्रेमराज गिरीले गुरुयोजना प्राथमिकतामै रहेको र जिल्ला परिषद्बाट समेत बजेट प्रस्ताव गरिने बताए । म्याग्दीमा वार्षिक ७० हजारको हाराहारीमा विदेशी पर्यटक भित्रिने गर्दछन् ।
Previous Article‘गोविन्दाज् रेष्टुराँ’ संचालनमा
Next Article सडकमा ट्रयाक खोल्ने काम शुरु