पर्वत, २० माघ/बसाईसराईका कारण सुनसान बन्दै गएको पर्वतको आर्थरडाँडाखर्क गाविसमा रहेका सबै सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यममा पढाउने तयारी भएको छ । बसाईसराई रोक्न र गाउँमै शहरबजारको जस्तो शिक्षा दिने अभियान अन्तर्गत गाबिसमा रहेका रहेको पञ्चकोशी उच्च मावि तथा एक आधारभूत तथा ७ वटा प्राथमिक बिद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन शुरु हुन लागेको हो । पञ्चकोशी माध्यामिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुको पहलमा आर्थिक संकलन गरेर नर्सरी र कक्षा २ सम्म आगामी शैक्षिकसत्र देखि अंग्रेजी र मन्टेश्वरी माध्यमबाट शिक्षा दिने उद्देश्य राखिएको छ । सबै बिद्यालयले यस शैक्षिक सत्रमा २ कक्षासम्म र त्यसपछि क्रमश कक्षा बढाउँदै लैजाने योजना बनाएका हुन । अहिले बिद्यालयहरुमा अंग्रेजी तथा मन्टेश्वरी माध्यमबाट शिक्षा दिनका लागि शिक्षकलाई तालिम दिने काम भैरहेको छ । भूपु बिद्यार्थी मञ्चको आयोजनामा सोमबार देखि १५ दिने मन्टेश्वरी तालिम शुरु भएको छ । तालिममा बिद्यालयहरुमा बालबिकास केन्द्र तथा प्राथमिक तहमा अध्ययन गराउने दुई दर्जन शिक्षकहरु सहभागी छन् । पोखराको प्राइम मन्टेश्वरी टिचर टे«निङ्ग इन्सिच्युटको प्राबिधिक सहयोगमा सञ्चालित तालिमपछि सबै बालबिकास केन्द्र र कक्षा दुई सम्म मन्टेश्वरी बिधीबाट अंग्रेजी माध्यममा पठनपाठन गर्न जनशक्रि तयार हुने भएकाले आगामी शैक्षिक सत्रदेखि नै यो अभियान शुरु हुने मञ्चका सल्लाहकार मनोज गुरुङ्गले जानकारी दिए । गाउँबाट शिक्षाको खोजीमा बिद्यार्थी र अभिभावक शहर झरेपछि गाउँ सुनसान बन्दै गएको छ । बसाइसराई रोक्दै सामुदायिक बिद्यालयहरुले पनि अंग्रेजी र मन्टेश्वरी माध्यमबाट शिक्षा दिन सक्छन भन्ने सबैका सामु उदाहरण पेश गर्न पनि अभियान शुरु भएको उनको भनाई छ । आर्थर डाडाँखर्क गाबिसबाट मात्रै बिगत डेढ दशकको अवधिमा ४ सय भन्दा बढी परिवार बसाईसराई गरेका छन । अझै बालबालिका पढाउनका लागि बजारमा डेरा खोजेर बस्नेको संख्या बर्षेनी सय भन्दा बढी हुने गरेको छ । गाउँमै राम्रो शिक्षा दिन सके बजार झर्ने क्रम रोकिने बिश्वास लिइएको गुरुङ्गले बताए । गाउँघरबाट पनि नीजि विद्यालयहरुमा विद्यार्थी पढाउन शहर झर्ने तथा ठुलो धनराशी अभिभावकले खर्च गर्नुपरेका कारण आफूहरुले पढेको विद्यालयको स्तर बृद्धिका लागि अंग्रेजी माध्यममा पढाईको ब्यवस्थापन मिलाउन सहयोग गरेको भूतपूर्व विद्यार्थी मञ्चकी बरिष्ठ उपाध्यक्ष बबिता शर्माले बताइन । एउटा बिद्यालयमा मात्रै नभई सबै बिद्यालयहरुमा एकै पटक अभियान थाल्दा सिंगो गाउँ बिकास समिति नै अंग्रेजी माध्यममा पढाउने सामुदायिक बिद्यालय बन्ने उनको भनाई छ । यो अभियान मुलुकमै नौलो अभियानको रुपमा सुरु गरिएको छ । पुर्व विद्यार्थीहरुको पहलमा अहिले सम्म झण्डै २५ लाख रुपैया संक्लन भएको छ । त्यसबाहेक सहयोग रकम बोल्नेको संख्या समेत गर्दा ४० लाख रुपैया पुग्छ । उक्त रकमबाट बिस लाख रुपैंया संकलन भईसकेको छ । विद्यालयमा अध्ययन गरेका स्वदेश र विदेशमा रहेका पूर्व विद्यार्थीहरुबाट उक्त रकम जुटाउने अभियान सञ्चालन गरिएको छ । उक्त रकमबाट विद्यालयको भौतिक पूर्वाधारमा सुधार गर्ने र अंग्रेजी माध्यमबाट अध्यापनको ब्यवस्था मिलाउने योजना मञ्चको छ ।
Previous Article‘निर्वाचन गर्ने भन्नेमा आयोगनै अन्यौलमा’
Next Article क्याम्पसको ५४ औं वार्षिकोत्सव