पर्वत, २० माघ/प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादबले स्थानिय तह वा स्थानिय निकायको निर्वाचन गर्ने भन्ने बारेमा आयोग अन्यौलमा परेको बताएका छन् । सरकारले स्थानिय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गर्दै गर्दा स्थानिय तह वा निकायका बारेमा आयोग अन्यौलमा रहेको उनले बताए । बुधवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित प्रमुख निर्वाचन आयुक्तसँग सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा डा. यादबले सरकारले निर्वाचनको मिति घोषणा गर्न नसक्दा आयोग अन्यौलमा परेको बताए । प्रमुख आयुक्तले जेठपछि निर्वाचन गर्न समस्याहरु आइपर्ने बताउँदै बैशाख मसान्तभित्रै चुनाव गर्ने गरी मिति घोषणा गर्नुपर्नेमा पनि जोड दिए । उनले निर्वाचन गराउनका लागि एक सय २० दिन आवश्यक पर्ने भएपनि सरकारले मिति घोषणा गरेमा ९० दिनमै तयारीगर्न आयोग तयार रहेको बताए । आयोग स्थानिय तह वा निकाय जुनसुकै निर्वाचन गर्न पनि तयारी अवस्थामा रहेको बताउँदै सरकारको मिति घोषणालाई पर्खिरहेको पनि उनको भनाई रहेको छ । ‘स्वच्छ, र निष्पक्ष निर्वाचनको व्यवस्थापन गर्नका न्यूनतम एक सय २० दिन आवश्यक पर्छ, यदि सरकारले ढिलोगरी मिति घोषणा गरेमा पनि हामी ९० दिनभित्रमा पनि सवै तयारी गर्न सक्छौ’ उनले भने– ‘यद्यपी छोटो समय भयो भने केहि समस्याहरु हुन सक्छन ।’ स्वच्छ र निष्पक्ष निर्वाचन नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै उनले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आयोगले तयारी गरेको बताए । जिल्लास्थित सुरक्षा निकाय र कर्मचारीहरुलाई निर्वाचनका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिएका थिए । कार्यक्रममा सांसद अर्जुनप्रसाद जोशीले सरकार निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताए । उनले स्थानिय तहकै निर्वाचन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै सकेसम्म संविधान संशोधन गरेर सहमतिमै निर्वाचनको मिति घोषणा हुने दावी गरे । यसैबीच, प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादबले जिल्ला निर्वाचन कार्यालय पर्वतको नयाँ भवन शिलन्यास गरेका छन् । अहिलेसम्म भाडाको घरमा संचालन हुँदै आएको कार्यालयको आफ्नै बन्न लागेको भवनको यादबले बुधवार शिलन्यास गरेका हुन् । जिल्ला निर्वाचन कार्यालय पर्वतको भवन २ करोड १ लाखको लागतमा बन्ने भएको छ । २०७४ फागुन भित्र सम्पन्न हुनेगरी निर्माणकार्य शुरु भएको भवनको निर्माण नयाँबाटो सुर्योदय कन्ट्रक्सन जेभि प्रालिले जिम्मा लिएको छ । भवन निर्माणका लागि गत भदौमानै सम्झौता भएको थियो ।