बागलुङ, १८ माघ /जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा जिल्लाको ग्वालीचौरमा नागरिक सुनुवाई तथा प्रहरी मेरो साथी विषयक कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै स्थानिय नागरिक तथा सरोकारवालाले प्रहरीले आफ्नो कार्य सम्पादनमा कसैलाई विभेद नगरि निष्पक्षपुर्वक काम गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले प्रहरी चौकी ग्वालीचौरको स्तरबृद्धि गरि ईलाका प्रहरी कार्यालय स्तरमा लैजान माग गरेका थिए । वक्ताहरुले प्रहरीले नागरिकप्रति सभ्य र नम्र व्यवहार गर्नुपर्ने औँल्याएका थिए । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले आफु जिल्लाको शान्ति सुरक्षा कायम गर्न सँधै नागरिकसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । उनले सबै नागरिक बर्दिबिनाको प्रहरी भएको भन्दै शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरीलाई सहयोग गर्न स्थानिय नागरिक तथा सरोकारवालालाई आग्रह गरेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी खापुङले आफु बागलुङमा आएपछि मातहतका इकाईहरुको अवस्थाको निरक्षण तथा प्रहरीको कामप्रति नागरिकको चासोका विषयमा बुझ्नका लागि बागलुङको पश्चि क्षेत्रमा आएको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी ग्वालीचौर उपशाखाका सभापतिले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रम स्थानिय समाजसेवी ठानेश्वर घिमिरेको अध्यक्षता, स्थानिय खार माविका शिक्षिका जीवन घिमिरेको स्वागत र ईलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाको सञ्चालनमा सम्पन्न भएको थियो । जिल्ला प्रहरी प्रमुख खापुङले ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी ग्वालीचौरको निरीक्षण तथा अवलोकन गरि शान्ति सुरक्षा कायम गर्न सक्रियता साथ लाग्न निर्देशन दिएका थिए ।