बागलुङ, १८ माघ /जिल्लाको रेश जिल्लाको पहिलो पूर्ण सरसफाईयुक्त गाविस घोषणा भएको छ । गाविसको ९ वटै वडामा पूर्ण सरसफाईका सबै सूचक पुरा गरिएपछि गाविसलाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको गाविस कार्यालयले जनाएको छ । चर्पिको नियमित प्रयोग, व्यक्तिगत सरसफाई, न्युनतम आवश्यकता तथा सुरक्षित पानीमा पहुँच र प्रयोग, सुरक्षित खाना, सफा र स्वच्छ घरआँगन लगायतका बिषयमा आवश्यक मापदण्ड पुरा गरेपछि पूर्ण सरसफाईयुक्त घोषणा गरिएको गाविस सचिव चुर्णबहादुर कार्कीले जानकारी दिए । कार्यक्रममा गाविसका महिला समूह तथा स्थानीय बिभिन्न समूहहरुले भजन, सोरठी लगायतका कला संस्कृति प्रर्दशन गरेका थिए । रेश नुन्थला माविको प्राङ्गणमा एक समारोहका बीच बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जिल्लामै पहिलो पुर्ण सरसफाईयुक्त गाविस घोषणाको प्रमाणपत्र गाविस सचिव कार्कीलाई प्रदान गरेका थिए । सोही अवसरमा गाविसलाई पूर्ण सरसफाईयुक्त घोषणा गर्न सफल भएकोमा जिल्ला विकास समितिले ५० हजारको रुपैयाँ प्रदान गरेको थियो । जिविसका तर्फबाट स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले गाविस सचिव कार्कीलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रजिअ पाण्डेले जिल्लामै पहिलोपटक रेश गाविस पूर्ण सरसफाईयुक्त घोषणा हुनु सुखद बिषय भएको भन्दै यसको कार्यान्वयनमा ध्यान दिएर गाविसलाई नमुना बनाउन आग्रह गरे । ‘घोषणा एउटा अभियान हो, यो आफैमा पर्याप्त होइन’, उनले भने, ‘सरसफाईको निरन्तरता बढी चुनौतिपूर्ण हुन्छ । यसमा ध्यान दिनुहोस् ।’ कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले रेशबाट शुरु भएको पूर्ण सरसफाईको अभियानलाई अब जिल्लाव्यापी बनाउने बताए । कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसी, नेपाल स्वास्थ्यका लागि पानी नेवाका मध्यपञ्चिम क्षेत्रीय कार्यालयका प्रवन्धक कुमार सिलवाल, जिल्ला वास सल्लाहकार ऋतु चौलागाई, जिल्ला विकास समितिका पूर्व इलाका सदस्य हरिबहादुर कार्की, नेपाली कांग्रेस रेशका गाउँ सभापति प्रेमबहादुर कार्की, नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष टोपबहादुर कार्की, नेकपा माओवादी केन्द्रका गाउँ इन्चार्ज लिलाराम सुनार, गैरसरकारी संस्था महासंघ बागलुङका सचिव मणिभद्र शर्मा, रेश नुन्थला माविका प्रधानाध्यापक ओमबहादुर थापा, आएससिसिका फिल्डबिज्ञ औडा विस्की, पूर्व गाविस अध्यक्ष कविराज थापा, वडा नागरिक मञ्चका संयोजक अमर गुरुङ, गाविस स्तरिय सरसफाई तथा स्वच्छता समन्वय समितिका चित्रकुमारी सापकोटाले बोलेका थिए । कार्यक्रम सचिव तथा गाविस स्तरिय सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष चुर्णबहादुर कार्कीको अध्यक्षता, रेश स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र लामाको स्वागत मन्तव्य र शिक्षक प्रजापति गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।