म्याग्दी, १८ माघ/जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषले आय–व्यय सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष साउन महिनादेखि पुस मसान्तसम्मको अर्धवार्षिक आय–व्ययको विवरण सार्वजनिक गरिएको हो । मेला पर्वबाट २६ लाख १४ हजार ३ सय ७३, पार्किङ शुल्क स्टल तथा जग्गाभाडामार्फत ३ लाख २० हजार ७ सय ५३, पेश्की फछ्र्यौट ७२ हजार र व्याज आम्दानी ६ लाख १४ हजार २ सय १९ सहित पुस महिनासम्म कुल ३६ लाख २१ हजार ३ सय ४५ रुपैयाँ आम्दानी भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । यसैगरी प्रशासनिक तलब भत्ता पारिश्रमिकतर्फ ४ लाख ७४ हजार १ सय ६७, विद्यालयको १ लाख ८३ हजार ६ सय ८८ र निर्माण तथा सुधार ६ लाख २६ हजार ६ सय ७४ रुपैयाँ खर्च भएको कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए । त्यस्तै पुजा र पुजा सामाग्रीतर्फ १ लाख ८६ हजार ६ सय ९१, मेलापर्वमा ३ लाख ५२ हजार ८ सय ८४ र मसलन्दतर्फ १ लाख ८५ हजार ६ सय ५५ गरी कुल २० लाख ९ हजार ७ सय ५९ रुपैयाँ खर्च भएको उनले बताए । त्यसैगरी कोषको मुद्दतीतर्फ १ करोड ५० लाख, बचततर्फ ४४ लाख २५ हजार ३ सय ६४ र नगद मौज्दात रु. १ को सिक्का १ लाख ५ हजार ६ सय २४ रुपैयाँसहित कुल १ करोड ६५ लाख ९० हजार ७ सय ४७ रुपैयाँ रहेकोमा चालु वर्षको पुस मसान्तसम्मको खर्च घटाएर नगद १ करोड ४५ लाख ८० हजार ९ सय ८८ रुपैयाँ रहेको अध्यक्ष केसीको भनाई रहेको छ । यसैबीच गलेश्वरधाम ज्येष्ठनागरिक आश्रममा गतवर्ष जिविस म्याग्दी र आश्रमको सहयोगमा १ लाख ६० हजारको लागतमा सोलारबत्ती जडान गरिएको छ । चालु आर्थिक वर्षमा महिला तथा बालबालिका कार्यालय म्याग्दीबाट ५ लाख र स्थानीय सहयोग ५० हजारमध्ये ३ लाख ५० हजार रुपैयाँमा चिसो मौसममा सोलारबाट तातोपानीको व्यवस्थापन गरिएको वृद्धाश्रमले जानकारी दिएको छ । बाँकी २ लाख रुपैयाँबाट वृद्धाश्रमको दक्षिणतर्फ खुला ठाउँमा कम्पाउण्डको पर्खाल निर्माणकार्य भैरहेको छ । बेनी नगरपालिका–९ वडाबाट वृद्धाश्रमका लागि प्राप्त ५० हजार रुपैयाँले भोजनालय, पाकशाला, भान्साघर, शौचालय र बाथरुममा समेत सोलार बत्ती जडान गरिएको अध्यक्ष केसीले बताए । त्यस्तै चालु पुँजीगतबाट प्राप्त ४५ हजार बजेटबाट वृद्धाहरुको वैठक कक्षबाट आवश्यक फर्निचर लगायतको व्यवस्था गरिएको जनाइएको छ ।