कृष्ण प्रसाद शर्मा/जसरी देशैभरी नदी छन् त्यसैगरी देशैभरी दलित छ । नदीको प्रभावबाट जसरी बिद्युत निकाल्न सकिन्छ । त्यसैगरी दलितले आर्जेका सीपबाट धेरै कुरा निकाल्न सकिन्छ । यदि गहिरिएर हेर्नेहो भने नेपालको कृषि क्षेत्रमा प्रयोग हुने औजारहरू दलितका सीपमा आधारित छन् । हुन त यो मेशिनरी युग हो मेशिनले बनाउँछ । दलितले नबनाए पनि बनिएला तर अहिले मेशिनले बनाएका र दलितहरूले बनाएका बस्तुहरूमा गुणस्तरका हिसाबले धेरै फरक छन् । बेलायतमा जाडो समयमा विभिन्न ठाउँमा मेला लाग्छ । त्यहाँ गोल्डस्मिथले बनाएको फलामका रिङमा ग्राहकको नाम अङित गरेर बेच्ने गरेको देखें । यो हाम्रो देशमा बिश्वकर्माले बनाउने हालका हलोलाई बनाउने करुवाको ठ्याक्कै मोडेल हो । यसको अर्थ सीपलाई बैज्ञानिकिकरण गरेर त्यसबाट थप उत्पादन गर्न सकिन्छ भन्ने आसाय हो ।
आधुनिकिरण हुँदै गएर ब्याण्ड बाजाको शुरुवाती भएपनि नेपाली पञ्चे बाजामा हुने त्यो धुन कमै बाजामा छन् । परियारहरूले जमानादेखी गर्दै आएको यो बाजाको संरक्षणमा कमैलाई चिन्तन र चिन्ता छ । आजकाल अन्य जातकोले पनि पञ्चेबाजा बजाउन थालेका छन् यो निकै थोरै छ । तर यसलाई पेशा नै बनाएर बर्षौ काम गर्दै आईरहेको परियारहरूको यो कामलाई संरक्षण गर्न जरूरी छ र यसलाई अलि व्यवस्था गर्न जरूरी छ । जुन–जुन गाउँमा यसरी बजाउनेहरू छन् त्यहाँ एउटा समिति पनि छैन र निश्चित दर पनि छैन । यसबारे दलित अधिकारकर्मीले पनि सोचौ । यो गर्न ठूलो केही गर्नु पर्दैन एउटा संगठित समुह बनाए पुग्छ । जसका कारण काम गर्नेलाई सम्मान पनि हुन्छ उचित ज्याला एवं यो व्यवस्थित समेत हुने थियो । हाम्रो गाउँघरमा जुत्ता चप्पल सिलाउने लगभग हटिसके आहिले बजारमा आएका चाईनीज जुत्ता चप्पलले बजार लिएको छ । पर्वतको कुश्मा एक जना गैर दलितले आजभन्दा २० बर्ष पहिले जुत्ता सिलाउने पसल थियो तर उनलाई चमारको काम गर्छ भनेर ठीकै रुपमा हेर्थे तर उनलाई त सम्मान दिएर हौसला बढाउनु पर्ने थियो तर तीन बर्ष पछि उनले छोडे तर आज यदि तपाई ब्रिटिस धनाढ्लाई सोध्नुस् उसले मान्छेको हातले सिलाएकै जुत्ता लगाएको हुन्छ तर हामी त्यसो गर्दैनौ । यसबारे हामीले सोचेका छैनौ ।
हाम्रो देशमा हरेक जिल्लामा मेला लाग्छन् । त्यस्तैगरी बागलुङमा चैतेदशै मेला लाग्छ । यस दिन बर्षभरी निर्माण गरेका बिभिन्न सामानहरू बिक्रीको लागि ल्याईन्छ । हामीले गाउँ घरमा ठेका बनाउने चुदाँराहरूलाई देखेका छौ । उनस्हरुले कति राम्रा र बलिया ठेका बनाउँछन् तर त्यो बेच्न एक बर्ष कुर्नु पर्छ साथै उनीहरूको कामका लागि हामीले सहज बनाईदिन कोशिश समेत गरेका छैनौ । यसलाई आधुनिकरण कसरी गर्नेबारे हामी कसैलाई चासो छैन । भूकम्प गएको बाईस महिना हुँदासम्म पीडितहरू पालमुनि नै छन् । राज्यले समयमा काम गर्न सकेको छैन तर यसको अलावा सरकारले समयमा घर बनाउने डकर्मी तालिम समेत दिन सकेन । हाम्रो गाउँघरका घर कसले बनाएका थिए । हुनत डकर्मिहरू सबै दलित भन्न खोजेको होईन तर अधिकांश जिल्ला र गाउँमा घरहरू दलित (खास गरेर हरिजन र नेपाली)ले निर्माण गरेका हुन तर उनीहरूको सीपलाई आधुनिकरण गरेर अर्थात हालको सवालमा भूकम्पबाट प्रभावित हुन नसक्ने गरी घर बनाउने तालिम दिन सकेको भए आज सरकारलाई कुर्नपर्ने पनि थिएन । अब पनि यदि स्थानिय डकर्मीलाई तालिम दिन सके भविष्यलाई समेत ठूलो राहत समेत हुने थियो । विश्वकर्माहरूले गाउँका सबैका भाँडाकुँडा बनाउने अर्चाप्पु पर्नु तर त्यसको लागि हालको बालीघरे प्रथाले मात्रै जीवीका चल्दैन यो कुरा सबैले बुझ्न जरूरी छ । सीपको आधुनिकरण गरेर आजको आजै करोबार गर्न सकिने गरेर नगरे यो सीप लोपोन्मुख हुने छ । मेशिनरी युग आएपनि सीपलाई आधुनिकिकरण गर्न सके दलितमा भएको सीपले आँफु मात्र आत्मनिर्भर नभई यसको हस्तान्तरण समेत हुने थियो । दलितहरू सकेसम्म आफ्नो पेशालाई निरन्तरता दिने तर जीवन धान्न साह्रै भएपछि मात्र बिकल्प खोज्ने गरेका कारण पनि यति लामो समय यो सीप यहाँसम्म आईपुग्यो । तर यसको उपभोगले समाज लाभान्वित त भयो तर पेशाबाट बिस्थापित हुँदा हामी साथ दिन्छौ भन्ने न राज्यको संयन्त्र न कुनै समुदायको दायित्व बान्यो । दलितसँग भएको सीप हाम्रो सम्पति हो । नेपालका धेरै ताम्रपत्रमा ठूलाठूला काम गर्नेको नाम अङिकत भएपनि भोली ताम्रपत्र बनाउने जाती नै लोप भएपनि यहाँ कसैको चासो हुने छैन ।
यहाँ केही दलितहरू मात्र उदाहरण दिईएको छ तर खासमा दलितका हरेक जातभित्र कुनै न कुनै प्रकारको सीप छ तर त्यसलाई हामीले न त आधुनिकरण न त व्यवसायीकरण गर्न सकेका छौ । सुनको महत्व छ तर यहाँ सुनारको महत्व छैन । सुन कमाउने सुनार कहिलै माथी उठ्न सक्दैन तर काँचो सुन किनेर सुनारको प्रयोग गरेर अनि व्यापार गर्ने चाही फेरी महत्वपुर्ण मान्छे मानिन्छ हामी । संगित क्षेत्रमा बजाईने सारङगी पहिलै देखी गाईनेहरूले बजाउँदै आए तर हाल यो बाजाको कम प्रयोग हुँदै गएको छभने यो जाती नै कतिपय ठाउँमा लोपोन्मुख छन साथै सारङगीलाई हाम्रो मुख्य बाजाको स्थानमा राखेर प्रवर्धन गर्न तिर कसैको चासो छैन ।
यहाँ माथी दिईएका केवल प्रतिनिधि उदाहरणहरू बाहेक हामीले हिमाल, पहाड र तराई भेगमा छरिएर रहेका अन्य दलित जात–जाती भित्र भएका सीपभन्दा बढी अन्य कुरामा घुमिरहेका छौ तर नेपालमा दलित नै एउटा यस्तो स्थाई सीपयुक्त जातहरू हुनजसका कारण दलित एवं गैर दलितहरूले घर नजिकै रहेर पनि यो सीपलाई उपभोग गरेका छन् तर बिडम्बना भनौ यसको स्तरीकरण, आधुनिकिरण र व्यवसायीकरण तर्फ कसैले जोड दिएका छैन । अब भए पनि दलितलाई बलियो बनाउने यो निहित सीपलाई पहिचान गरेर यसलाई प्रत्येकको जीवनसँग जोडौ ।
Previous Articleकोषद्वारा आय–व्यय सार्वजनिक
Next Article गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु