अर्जुन कार्की, बागलुङ, १६ माघ/अहिले शहरको माग बन्दै गएको फुटबलकै सानो रुप अर्थात् इन्डोरमा खेलिने फुटसल अब बागलुङमा पनि खेल्न सकिने भएको छ । सन् २०११ देखि नेपालमा सुरु भएको फुटसल अहिले निकै लोकप्रिय बनिरहेको छ । शहरको विशेषताका रुपमा आजकल फुटसललाई लिने गरिन्छ । अबको दुई हप्ता भित्रै संचालनमा ल्याउने गरी धौलागिरीमा नै पहिलोपटक बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा फुटसल मैदानको निर्माण भैरहेको छ । जिल्लाका खेल पारखीहरुको ध्यानलाई मध्यनजर गर्दै बागलुङका ४ जना युवाद्वारा करिव १ करोड २० लाखको लागतमा फुटसलको निर्माण कार्य धमाधम अघि बढिरहेको छ । जिल्लाका खेलप्रेमीलाई र खेलाडीलाई मनोरञ्जन र स्वस्थ स्वास्थ्यका लागि खेलकुदमा रम्न अझै सजिलो होस् भन्ने हेतुले फुटसल निर्माण गरेको रसआवर फुटसल प्रा.लि. बागलुङका राजु केसीले बताए । जिल्लामा फुटसल आवश्यकता महशुस गरेर आफुहरुले संचालन गर्न लागेको केसीले बताए । ‘हामीले जिल्लाका व्यापारी तथा खेलप्रेमीहरुलाई ध्यानमा राखेर फुटसल स्थापना गर्न लागेका हौ’ केसीले भने ‘फुटसलले धेरै शारीरिक कसरत हुने भएकाले यस खेलले स्वास्थ्यको क्षेत्रमा ठूलो सहयोग पुग्ने छ ।’ उनले यस खेलबाट जिल्लामा पर्यटनहरु भित्राउनको लागि पनि सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् । फुटसल दैनिक जसो बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म संचालन गरिने केसीले बताए । पहिले फुटसल मैदान बनाएपछि उक्त परिसरमै स्नुकर हाउस र रेष्टुरण्ट पनि संचालन गर्न लागिएको केसीले जनाकारी दिए । बागलुङका राजु केसी, सज्जन आचार्य, राजेश श्रेष्ठ र प्रतिप शर्माले साढे २ रोपनी जग्गा मासिक ३३ हजार भाडामा लिई १ करोड २० लाखको लागतमा फुटसल निर्माण गर्न लागेका हुन् । जिल्लामा अहिले नीजि क्षेत्रबाट पनि खेलमा लगानी गर्न लागिएकोमा जिल्ला खेलकुद विकास समितिले खुसी व्यक्त गरेको छ । ‘अहिले जिल्लामा धेरै खेलमा नीजि क्षेत्रबाट पनि लगानीहरु भैइरहेको छ’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले भने ‘खेल क्षेत्रमा नीजि क्षेत्रबाट लगानी हुँदा खेलाडी उत्पादन गर्न र उनीहरुलाई व्यवसायिक बनाउनको ठुलो सहयोग पुग्ने छ ।’
के हो फुटसल ?
फुटसल खेलको औपचारिक सुरुवात सन् १९३० मा ब्राजिलबाट सुरु भएको हो । ब्राजिलमा ठूलो मैदान अभावलाई परिपूर्ति गर्नको लागि यस खेलको विकास भएको भएपनि अहिले ठूलो खेलहरु जस्तै यसलाई पनि फिफा (अन्तराष्ट्रिय फुटबल महासंघ)ले खेलका रुपमा मान्यता दिएको छ । यस खेलको विश्वकप पनि आयोजना हुने गरेको छ । फुटसलको इतिहास जति लामो छ । त्यति नै रोचक प्रसङ्गहरु पनि छन् । उरुग्वेका जुआन कार्लोस सेरिआनी ग्राभियर फुटसलका प्रारम्भकर्ता मानिन्छन् । फुटसल सुरु भएको तीन वर्षपछि अर्थात् १९३३ मा नियम बन्यो । फुटबल ९० मिनेट खेलाइन्छ भने फुटसल ४० मिनेट र ५–५ जना खेलाडीहरु मात्रै खेल्न सक्छन् । अधिकांस नियम फुटबलसँग मिल्छन् । एक मात्रै नमिल्ने भनेको थ्रो हुँदैन । खुट्टाले नै हानिन्छ । सन् १९६५ मा दक्षिण अमेरिका फुटसल संघ गठन गर्दा दक्षिण अमेरिकाका ५ वटा देशहरु मात्रै यो संघमा सहभागी थिए । जहाँ उरुग्वे, पराग्वे, पेरु, अर्जेन्टिना र ब्राजिल त्यसका सदस्य राष्ट्र थिए । अहिले झण्डै ४० देश छन् । अन्तराष्ट्रिय मापदण्ड अनुसार फुटसल मैदान न्युनतम २५ बाई १६ मिटर र अधिकतममा ४२ बाई २५ मिटर राख्न सकिन्छ । जहाँ ६–६ जना खेलाडीसम्म खेल्न सक्छन । तर, नियममा ५–५ भन्दा बढी खेलाडी खेलाउन मिल्दैन । सन् १९८९ देखि वल्डकप मेन्स फुटसलको सुरुवात भएसँगै फुटसलको व्यापकता चुलियो । अहिले महिलाको पनि फुटसल वल्डकप हुन थालेको छ । यसै कारण पनि अहिले फुटसलले फुटबल झै व्यापकता पाउन थालेको छ । अहिले फुटसल छैन त शहरको रौनक छैन् ।
नेपालमा कहिले र कसरी सुरुवात भयो फुटसल ?
विश्वमा सन् १९३० देखि फुटसलको सुरुवात भएपनि नेपालमा भने सन् २०११ देखि सुरु भएको हो । नेपालमा काइजन स्पोर्टस् सलुसन प्रा.लि.ले सन् २०११ देखि फुटसल भित्राएको दाबी गरिन्छ । जुन काठमाडौंको ठेमलमा एरेना फुटसल नाम दिएर स्थापित भएको थियो । जस्लाई नवाङ निमा लामाले सुरु गरेका थिए । नवाङले खोलेकोे ४ वर्षे दौरानमै उपत्यकामात्रै हैन, उपत्यका बाहिर पनि फुटसलले व्यापकता पाएको छ । अहिले उपत्यकामा मात्रै ४५ र बाहिर एक दर्जन फुटसल मैदान रहेको जनाइन्छ । उपत्यका बाहिर पोखरा, हेटौडापछि पूर्वको विराटनगर नै फुटसलको अग्रणी ठाउँ मानिन्छ । पछिल्लो समय व्यवसायिक रुपमा पनि राम्रै आम्दानी हुने भएकाले पनि फुटसलका मैदानहरु बढ्न थालेका छन् । फुटसलमा अहिले काठमाडौं उपत्यकामात्रै होइन, उपत्यका बाहिरका सहरका युवा समेत झुिम्मन थालेका छन् ।