बागलुङ, १६ माघ/सात सय बगाले थापा समाज मल्म बागलुङको १३ औं वार्षिक साधारणसभा, पुस्तक विमोचन तथा शिलान्यास कार्यक्रम शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन बगाले थापा क्षत्री समाज धवलागिरी नेपालका अध्यक्ष तथा नेपाल सरकारका पूर्व एसएसपी भिमबहादुर थापाले गरे । कार्यक्रममा बोल्दै थापाले बगाले थापा बन्धु एकता र राष्ट्र निर्माणमा लाग्नु पर्ने बताए । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय बागलुङका वरिष्ठ कृषि विकास अधिकृत मदन थापा, म्याग्दी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख कृष्णबहादुर थापा र गलकोट बहुमुखी क्याम्पस हटियाका सहायक क्याम्पस प्रमुख कृष्णराज गौतमले बोलेका थिए । कार्यक्रममा सचिव केहरसिंह थापाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष घनश्याम थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा धवलागिरी बहुमुखी क्याम्पस बागलुङका सहप्रा. डा. दिनबहादुर थापाद्वारा लिखित ‘बगाले थापाको वंशः विगतदेखि वर्तमानसम्म (सातसय बगाले थापाको वंशवृक्ष सहित)’ पुस्तकको विमोचन भिमबहादुर थापाले गरे । उक्त पुस्तकबारे गलकोट बहुमुखी क्याम्पस हटियाका सहायक क्याम्पस प्रमुख कृष्णराज गौतमले समिक्षा गरेका थिए । सोही अवसरमा सात सय बगाले थापा मल्मको सामुदायिक भवन निर्माणको शिलन्यास म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा र धवलागिरी बहुमुखी क्याम्पस बागलुङका सहप्रा.डा. दिनबहादुर थापाले संयुक्त रुपमा गरे । उक्त भवन निर्माणको लागि मल्म–९ खाली निवासी समाजसेवी गुन्जबहादुर थापाले निशुल्क जग्गा दान गरेका थिए । त्यसैगरी अमरसिंह पदमार्गको शिलन्यास जिल्ला कृषि विकाश कार्यालय बागलुङका वरिष्ठ कृषि विकास अधिकृत मदन थापा र सात सय बगाले थापा समाज मल्मका केन्द्रीय प्रतिनिधि राज थापाले गरे । सात सय बगाले थापाका अध्यक्ष दलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव केहरसिंह थापाले गरेका थिए ।