बागलुङ, १५ माघ – शुक्रबार बिहानैदेखि मौसममा आएको परिवर्तनका कारण हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । देशैभर मौसम बद्ली भई बुधबार बिहानैदेखि आकाश धुम्मिएको र पानी परेपछि मुस्ताङ र म्याग्दीको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।
मुस्ताङ जिल्लाको सबै गाविस र सदरमुकाम जोमसोम बजारमा दिउँसो पानी परेपनि अहिले हिउँ पर्न थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले जानकारी दिए । बिहानैदेखि परेको वर्षाका कारण चिसो बढेपछि सर्वसाधारण बाहिर निस्कन नसकेको र जोमसोम विमानस्थलमा विमानले उडान नभएको उनले बताएका छन् ।
हिमपातपछि जोमसोम आसपास क्षेत्रका डाँडाहरु सेताम्मे देखिएका छन्भने सर्वसाधारणको घरगोठ समेत हिउँले भरिन थालेको प्रजिअ पोखलको भनाई छ । दिउँसो पानी परेको र अहिले हिउँ पर्न थालेको हुँदा रातीसम्म यही अवस्था रहेमा जोमसोम बजारमा पनि बाक्लो हिउँ जम्न सक्ने सम्भावना रहेको उनले बताए ।
हिमपातसँगै बढेको चिसोका कारण सर्वसाधारणहरु घरभित्रै आगो तापेर बस्न बाध्य भएका छन् । गएको कार्तिक र मंसीर महिनादेखि नै मुस्ताङमा चिसो बढ्न थालेपछि उपल्लो मुस्ताङवासीहरु भने यसअघि नै बेंसी झरिसकेका छन् । अत्यधिक रुपमा बढेको जाडो छल्न बेंसी झरेका उनीहरुले यो समयमा मध्य नेपाल र भारतसम्म पुगेर व्यापार गर्ने गर्दछन् । यसैगरी, सिमसिम वर्षाले बागलुङ र म्याग्दीको जनजीवन पनि कष्टकर बनेको छ ।
वर्षासँगै म्याग्दीको गूर्जा, लुलाङ, मुदी, चिमखोला, कुईनेमङ्गले, राम्चे, खोप्रालेक लगायतका उच्च हिमाली बस्तीमा हिमपात भएको स्थानीयवासिन्दाले बताएका छन् । वर्षाका कारण चिसो बढेको र निरन्तर वर्षा भैरहे बाक्लो हिमपात हुनसक्ने मुदीबाट थमसरा पुनले बताइन् । वर्षा र हिमपातले बालबालिका, वृद्धवृद्धा र बिरामी बढी प्रभावित छन् । गूर्जा सहित जिल्लाका माथिल्लो भेगका आधा फिट सम्म हिउँ परेको बताइएको छ ।
बिहिबार सम्म सफा मौसम र जाडो घट्दै गइरहेको अवस्थामा शुक्रबार रातीदेखि हावाहुरी र चिसो बढेको थियो । दिउँसो १२ बजेदेखि भएको वर्षा अहिले पनि निरन्तर भैरहेको छ भने वर्षा रोकिएको छैन । चिसो बढेपछि स्थानीय घर बाहिर निस्कन सकेका छैनन् भने वर्षापछि पैदलयात्रीलाई समस्या भएको छ ।
देशभरीकै मौसम शुक्रबार बदली भएपछि अधिकांश ठाउँमा बिहानैदेखि हल्का पानी परिरहेको र उच्च हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार बिहानदेखि भने देशभरी कै मौसममा सुधार हुने मौसमविद् शान्ति कँडेलले बताइन । बुधबार रातिदेखि नै बादल लागेपछि देशभरकै न्यूनतम तापक्रम भने बढेको छ ।
Previous Articleकुष्ठरोगबारे चेतना बढाउनुपर्नेमा जोड
Next Article हिउँले छोपिएको जोमसोम (फोटो फिचर)