बागलुङ, १५ माघ – प्रेस चौतारी नेपाल बागलुङ शाखाले यस बर्षदेखी प्रदान गर्न लागेको ‘प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७३’ नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमलाई प्रदान गर्ने भएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको पुरस्कार छनोट समितिको शुक्रबार सम्पन्न बैठकले सम्पादक गौतमलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी नगद रु.१०,१०० र सम्मान पत्र रहेको छ । बागलुङ जिल्लामा रहेर दुई दशक लामोसमयदेखि छापा तथा विधुतिय सञ्चार माध्यम मार्फत पत्रकारितामा क्रियाशिल गौतमलाई प्रेस चौतारीको पहिलो पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार छनौट समितिका संयोजक तथा शाखा अध्यक्ष उमाकान्त शर्माले वताए ।
उक्त पुरस्कार प्रेस चौतारीको १९ औं स्थापना दिवसको अवसरमा माघ २२ गते एक कार्यक्रमको आयोजना गरी प्रदान गरिनेछ । दुई दशक अगाडि ‘श्री धौलागिरी’ साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गौतम वि.सं. २०५५ देखि ‘धौलागिरी स्टार साप्ताहिक’ र वि.सं. २०६० देखि ‘ढोरपाटन राष्ट्रिय दैनिक’को सम्पादक छन । विभिन्न पत्रपत्रिका र एफएम रेडियोहरुको संवाददाताको रुपमा काम गरीसकेका गौतम वि.सं. २०६९ देखि सञ्चालित जनमञ्च अनलाईनको पनि सम्पादक हुन् ।
नेपाल पत्रकार महासंघ धौलागिरी शाखाको सचिव, बागलुङ शाखाको सभापति भइसकेका गौतम हाल नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य र पश्चिमाञ्च संयोजक छन । धौलागिरीमा रहेर पत्रकारिता गरेका पत्रकार मध्येबाट जेष्ठता, निरन्त्तरता, त्रियाशिलता र प्रेस स्वतन्त्रताको पक्षमा योगदान दिएको आधारमा सम्पादक गौतमलाई पहिलो पुरस्कारको लागि छनौट गरिएको पुरस्कार छनौट समितिका सदस्य नविन शिशिर विकले वताए ।
प्रेस स्वतन्त्रताको लडाईमा गौतम पटक पटक जेल परेका थिए भने निरकुंश शाहीकालमा सार्वजानिक अपराधको मुद्धा समेत लगाइएको थियो । उक्त मुद्धामा ०६२/०६३ को जनआन्दोलनका सफलतासंगै सफाई पाएका थिए । सम्पादक गौतमले यसअघि प्रेस चौतारी नेपाल केन्द्रीय समितिले स्थापना गरेको क्रियाशिल युवा पत्रकारिता पुरस्कार, रेडियो अन्नपूर्णले प्रदान गर्ने उत्कृष्ट पत्रकारिता पुरस्कार र राजधानी दैनिकले प्रदान गर्ने उत्कृष्ट संवाददाता पुरस्कारबाट सम्मानित भइसकेका छन ।
प्रेस चौतारी बागलुङले गतबर्ष प्रदर्शन गरेको ‘भाग्यले बाँचेकाहरु’ वृतचित्रबाट संकलित रकम मध्ये रु. १ लाखको अक्षयकोष स्थापना गरी उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कारको राशी नगद रु. १० हजार १ सय र सम्मान पत्र रहेको छ ।
Previous Articleविव्यस गठन एकैलौटीः जिशिका
Next Article कुष्ठरोगबारे चेतना बढाउनुपर्नेमा जोड