बागलुङ, १५ माघ – विवाद र असन्तुष्टि बीच निर्वाचनबाट गठन गरिएको उत्तरगंगा उच्च मावि बुर्तिबाङको विद्यालय व्यवस्थापन समितिलाई विधिसम्मत नभएको भन्दै जिल्ला शिक्षा कार्यालय बागलुङले फेरी नयाँ प्रक्रियाबाट गठन गर्न भनेको छ । निर्वाचनमा जान अभिभावक तथा उम्मेद्वार नै तयार नभएको, निर्वाचनका लागि मतदाता सूची प्रकाशन, मतपत्र लगायतका निर्वाचन प्रक्रिया पुरा नगरिएको जस्ता कारणले नयाँ विव्यस गठनलाई स्विकृति दिन नसकिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले जानकारी दिए । निर्वाचन नै गर्नुपर्ने भएपछि मतदाताहरुको सहमतिमा विद्यालय निरीक्षकले गर्नुपर्ने उनको भनाई छ । उनले अभिभावकबीच सहमती गरेर फेरी विव्यस गठन गर्न निर्देशन दिर्ईएको जानकारी दिए । गत जेठमै विव्यसको म्याद सकिएपनि विद्यालयमा समिति गठन हुन सकेको थिएन । यसअघि गत असोजमा विद्यालयले बोलाएका दुई ओटा अभिभावक भेलामा अभिभावकको न्युन उपस्थितीले समिति गठन हुन नसकेको विद्यालयले जनाएको छ । गत मंगलबार विद्यालयमा भएको अभिभावक भेलामा केहि अभिभावक र उम्मेद्वारको असहमती बीच श्रोतव्यक्ति बेदबहादुर बुढाले विद्यालयमा निर्वाचन गराएका थिए । निर्वाचनबाट चुडाबहादुर कुँवरको अध्यक्षतामा समिति गठन गरिएको थियो । खुल्ला सदस्यका उम्मेद्वार ज्ञानप्रसाद कँडेल, डिलबहादुर कुँवर र बालसम कुँवरले सर्बसम्मत गर्नुपर्ने र निर्वाचन प्रक्रिया विधि सम्मत नभएको भन्दै प्रक्रियामा सहभागी भएका थिएनन् । यसरी गठन भएको विद्यालय व्यवस्थापन समितिको विवरणसहितको प्रतिवेदन लिएर प्रधानाध्यपक धनबहादुर कुँवर र अध्यक्ष निर्वाचित चुडाबहादुर कुँवर बिहिबार जिल्ला शिक्षा कार्यालय आएका थिए तर जिशिकाले उक्त कागजात नबुझेको बताईएको छ । विद्यालयमा विगत ७ बर्षदेखि विव्यस गठन, प्रअ नियुक्ति जस्ता विषय विवादित हुँदै आएको छ । प्रअ नियुक्ति सम्बन्धि मुद्धा सर्बोच्च अदालत तथा अख्तियारसम्म पुगेको थियो । विद्यालयमा चरम राजनीतिक विवादले शैक्षिक र भौतिक अबस्था बिगँ्रदै गएको छ । नियमित लेखा परिक्षण समेत हुन सकेको छैन् ।
Previous Article१५ माघ २०७३, ढोरपाटन दैनिक
Next Article प्रेस चौतारीको क्रियाशिल पत्रकारीता पुरस्कार गौतमलाई