बागलुङ, १४ माघ – सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबको तेस्रो क्याविनेट बैठक बागलुङ बजारमा हुने भएको छ । नेपाल भरी ३ वटा मात्र क्याविनेट रहेकोमा मध्य क्षेत्रको डिस्ट्रक ३२५ को क्याविनेट बैठक बस्न लागेको हो ।
आउने फागुन ७ र ८ गते बस्ने बैठकका लागि देशभरका ३ हजार बढी लायन्सका सदस्य र पदाधिकारीहरु बागलुङ आउनेछन् । बागलुङमा संचालित ४ वटा लायन्स क्लबहरुले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । २० बर्ष पहिले बागलुङमा स्थापित लायन्सबाट अहिले लायन्स क्लब अफ धौलागिरी, लायन्स क्लब अफ बागलुङ कालिका, लायन्स क्लब अफ बागलुङ सिटी र लायन्स क्लब अफ बागलुङ संचालनमा छन् ।
सामाजिक रुपमा लागेर सरसफाइ, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा सहयोग गर्न यस्ता क्लब गठन भएका हुन् । पहिलोपटक गर्न लागिएको क्याविनेट बैठकले जिल्लाको पर्यटन, व्यपार र सरसफाइको क्षेत्रमा उल्लेख्य फाइदा पुग्ने विश्वास लिइएको छ । पत्रकार सम्मेलनमा मुल आयोजक संयोजक काजीमान गुरुङले स्थानीय उत्पादन र कला र संस्कृतिको प्रवद्र्धन, स्थानीय व्यपार र व्यवसाय, आन्तरिक र बाहिरी पर्यटक प्रवद्र्धन, धार्मिक, सास्कृतिक र प्राकृतिक क्षेत्रको संभावनाको खोजी गर्न बैठकले सहयोग पुग्ने बताए ।
साथै पर्यटकीय गन्तव्यमा सुरक्षित छ भन्ने सन्देश दिने, लायन्स क्लबको इतिहासमा इटा थप्ने, सबै लायन्सको आत्म सम्मान बढाउने र लायन्स हरुको संस्थागत विकासमा योगदान दिन बैठक आयोजना गरिएको बताए । दुइ दिनसम्म हुने बैठकका लागि ४४ लाख ४० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसका लागि ७५ प्रतिशत सहभागिबाटै रकम संकलन गरिनेछ भने अन्य खर्च विभिन्न सहयोगबाट जुटाइने उनले बताए ।
बैठकमा आउने पाहुनालाइ कालिका र पञ्चकोटको भ्रमण गराइने योजना रमेत बनाइएको छ । त्यसका लागि आवस्यक तयारी भएको छ भने बैठकको मुल समारोहमा धौलागिरी बहुमुखी क्याम्पसमा कार्यक्रम गरेर कला र संस्कृतिको प्रर्द्रशन पनि गरिने योजना रहेको छ । दुर्गाबहादुर कुँवरको अध्यक्षता, राजेशचन्द्र राज भण्डारीको संचालनमा सम्पनन कार्यक्रममा सबै क्लबका पदाधिकारीले जिल्लाको गरिमा बढाउने अभियानमा राखिएको बैठकलाइ सम्पन्न गर्न सबैक्षेत्रको सहयोगको अपेक्षा गरिएको धारणा राखेका थिए । यस्ता अभियानले जिल्ला पर्यटनको विकासमा सहयोग पुग्ने, होटल व्यवसायको विकास हुने र कृषि फसलको बजारीकरणमा पनि सहयोग पुग्ने बताएका थिए ।