पर्वत, १४ माघ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख अन्तिम साता स्थानीय निकायको निर्वाचन हुने दाबी गरेका छन् । कुश्मा बजारमा आयोजित पाँचौ पर्वत महोत्सवलाई बिहिबार सम्बोधन गर्दै उनले निर्वाचन सम्बन्धी विधेयक संसद्बाट पारित भइसकेपछि निर्वाचनको मिति घोषणा गर्ने तयारीमा आफू रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले माघ १५ गतेभित्र निर्वाचनको मिति घोषणा भएमा वैशाख अन्तिम सातासम्म चुनाव गर्न सकिने भएकाले दुई/तीन दिनभित्रमा चुनावको मिति घोषणा हुने दाबी गरे । उनले माघ १५ गतेभित्र निर्वाचनसम्बन्धी विधेयक पारित गरिसक्न आफूले सम्बन्धित समितिलाई आग्रह गरिसकेको पनि बताए । आगामी २०७४ को माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा जाँदा मधेसी, थारु, आदिवासी, जनजातिलाई समेतसँगै लैजानु पर्ने भएकाले संविधान संशोधन गरेर अघि बढ्ने तयारी भइसकेको पनि बताए ।
उनले निर्वाचन गर्ने सम्बन्धमा सबै राजनीतिक दलहरु सहमति नजिक पुगेको बताउँदै मधेसी मोर्चाका मागलाई पनि सम्बोधन गरेर अघि बढ्न सरकार हरतरहले लागिपरेको बताए । प्रधानमन्त्री प्रचण्डले जसरी संविधान जारी गर्दा मुलुकका सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएका थिए, त्यस्तै संविधान कार्यान्वयनको सुनिश्चितता र निर्वाचन गर्नका लागि पुनः एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको बताए । मधेस, पहाड र हिमाललाई मिलाएर देशलाई निर्वाचनमा लैजानु पर्ने उल्लेख गर्दै उनले प्रधानमन्त्रीको नाताले आफूले सबै पक्षलाई मिलाउन हरतरहले प्रयत्न गरेको बताए ।
मुलुक बिखण्डन गर्न खोज्ने तत्व सक्रिय हुँदै गएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आफूले सत्ता र सत्ता बाहिर रहेका पार्टीलाई यो प्रवृत्तिलाई नियन्त्रण गर्न राज्यका तर्फबाट कठोर कदम चाल्ने चेतावनी पनि दिए । केही व्यक्तिले भड्काउन खोज्दैमा नेपाली जनताको एकतामा बिखण्डन नआउने उनको तर्क थियो । अर्को प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले सरकार मुलुकको आर्थिक विकास गर्न लागिपरेको बताए । जबसम्म मुलुकमा राजनीतिक स्थिरता हुँदैन तबसम्म मुलुक आर्थिक रुपमा सबल हुन सक्दैन । आर्थिक समृद्धि नभएसम्म विश्वका अन्य मुलुकले नेपालको अस्तित्व स्वीकार नगर्ने भएकाले मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउनुपर्ने प्रचण्डले बताए । उनले दुई छिमेकी मुलुकसँग साझेदारी गर्ने विषयमा गम्भीर ढङ्गले कुरा भइरहेको बताउँदै हवाई मार्ग, रेलमार्ग वा सडकमार्ग तीनवटै माध्यमवाट छिमेकीसँग नजिकिन पहल भइरहेको बताए ।
उनले अहिले सरकार ठूला जलाशययुक्त जलविद्यु्त आयोजनातर्फ केन्द्रित बनेको बताउँदै सबै सम्भावनायुक्त क्षेत्रको पहिचान गरी राज्यको लगानीलाई केन्द्रित गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले पर्वत जिल्लामा अतिआवश्यक देखिएका सदरमुकाममा सिटी हल निर्माण, कुश्मा–फलेबास–बर्राचौर–हुवास सडक कालोपत्रे, खेल मैदान निर्माण र लप्सी प्रशोधन केन्द्रका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए । कोरला नाका तत्काल खुलाउन पहल गर्ने बताउँदै उनले नाका खुल्ने बित्तिकै पर्वतलाई व्यापारिक ‘हब’का रुपमा विकास गर्न सकिने आँैल्याए । स्थानीय कला, संस्कृतिको संरक्षण सहित लघु घरेलु उत्पादनको प्रवद्र्धन र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजित पाँचौं पर्वत महोत्सवमा व्यवसायिक, सामाजिक र सेवामूलक गरी डेढसय स्टल राखिएको छ । स्टलहरुमा स्थानीय उत्पादनदेखि राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु समेत बिक्री तथा प्रदर्शनी गरिएको छ ।
महोत्सवमा प्याराग्लाइडिङ, अस्ट्रिच प्रदर्शनीदेखि कालीगण्डकीमा ¥याफ्टिङ लगायतका नयाँ प्याकेज प्रदर्शन गर्न लागिएको आयोजक पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए । महोत्सवले समग्र पश्चिमाञ्चल क्षेत्रको पर्यटन प्रबद्र्धनमा उल्लेख्य भूमिका खेल्ने आयोजकको विश्वास छ । मुक्तिनाथ र दामोदर कुण्डको प्रवेशद्वारका रुपमा समेत चिनिएको पर्वत हुँदै वर्षेनी हजारौं बिदेशी पर्यटकहरु भित्रिने भएपनि यहाँका सम्भावनाहरु चिनाउन नसक्दा पर्यटकीय गन्तव्य बन्न नसकेको गुनासो आएपछि आयोजकले जिल्लाका पर्यटकीय क्षेत्र समेटिएको वृत्तचित्र पनि प्रदर्शन गर्ने जनाएको छ ।
महोत्सवमा करिव दुई लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर र चार करोडको कारोबार गर्ने लक्ष्य आयोजकको छ । जसबाट ४० लाख बचत गरी सदरमुकाममा व्यवस्थित खेल मैदान निर्माण गरिने संघले जनाएको छ । महोत्सवमा राष्ट्रियस्तरको पुरुष भलिबल, विद्यालयस्तरीय लोकनृत्य, लोपोन्मुख जातिका सांस्कृतिक एवं लोकलय प्रदर्शनी, रत्यौली, लोकगीत प्रतियोगिता, रमाइलो मेला, बालउद्यान, खुल्ला दौड, साहित्यिक भेला, राष्ट्रिय खानाका परिकारलगायत समेटिएको संघका महासचिव ठाकुर बि पौडेलले बताए ।
मुलुककै अग्ला झोलुङ्गे पुल, कालीगण्डकीमा जलयात्रा, दुर्लुङबाट प्याराग्लाइडिङ, गुप्तेश्वर र अलपेश्वर गुफा, कुश्मा–बलेवा केबलकार लगायतको प्रचार गरी आन्तरिक पर्यटक बृद्धि गराउन महोत्सव आयोजना गरिएको आयोजक संस्था पर्वत उद्योग वाणिज्य संघले जनाएको छ । ‘समृद्द पर्वत हाम्रो चाहना’ भन्ने नारासाथ चलेको महोत्सव यहि माघ २२ गतेसम्म चल्ने बताइएको छ ।
Previous Articleलायन्स क्लबको क्याबिनेट बैठक हुने
Next Article गायक प्रकाश ओझा पक्राउ, १० बर्ष कैद