बागलुङ, १३ माघ/जिल्ला खेलकुद विकास समितिले अघिल्ला बर्षहरु जस्तै यो बर्ष पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ । समितिले बुधवार पत्रकार सम्मेलन गरेर क्षेत्रीय तहमा हुने प्रतियोगिता र जिल्ला स्तरमा हुने प्रतियोगिता बारे जानकारी गराएको हो । कार्यक्रममा समितिका जिल्ला अध्यक्ष धनबहादुर परियारले राष्ट्रका लागि खेलकुँद भन्ने अभियानलाइ विद्यालय तह सम्म पु¥याउन राष्ट्रपति रनिङशिल्ड प्रभावकारी भएको बताए । उनले सबै विद्यार्थीले धेरै खेल खेल्न पाउने भएकोले जिल्ला तहको महाकुम्भमेलाको रुपमा लिन सबैलाइ आग्रह पनि गरेका थिए । कार्यक्रम अनुसार आगामी फागुन १ गते देखि ३ गते सम्म तीनवटै निर्वाचन क्षेत्रको क्षेत्रीय खेलकुँद प्रतियोगिता हुनेछ । ती खेलका लािग एथलेटिक्स तर्फ छात्र र छात्राको १ सय मीटर २ सय मीटर, ४ सय मीटर, ८ सय मीट, १५ सय मीटर, ३ हजार मीटर सम्ममा दौड प्रतियोगिता हुनेछन् । उफ्रने र फ्याँक्ने तर्फ छात्रछात्राकै हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट लगायतको खेल राखिएको छ । भलिबल तर्फ छात्रछात्राकै नकआउट विधिको प्रतियोगिता हुनेछ । मार्सल आर्ट तर्फ छात्रछात्राको कराँते, उसु र तेक्वान्दो र कवड्डी समेत समावेश गरिएको छ । ती मध्ये एथलेटिक्सलाइ प्रथमको ७, द्वितियको ५, तृतियको ४, चौथोको ३, पाँचौंको २ र छैठौंको १ अंक दिने व्यवस्था छ । त्यस्तै रिले तर्फ त्यसको दोब्बर अंक दिने व्यवस्था छ । भलिबल र कबड्डीमा भने प्रथमको ४२, द्वितियको २८ र तृतिय तथा चौथोको १४ अंक तोकिएको छ । निर्वाचन क्षेत्र अनुसार भएपनि भौगोलिक कठिनाईका कारण बलेवा, जैदी छिस्ती, राङखानी, दमेक तर्फका विद्यालयलाइ क्षेत्र नं. १ को खेलमा बागलुङ बजारमा समावेश गरिने छ भने क्षेत्र नं. १ भएपनि गलकोट र ताराखोला क्षेत्रका गाविसका विद्यालयलाइ हटियामा क्षेत्र नं. २ का विद्यालयसँग खेल संचालन गरिनेछ । हटियाको खेलमा क्षेत्र नं. ३ का रिघा, पाण्डवखानी समेतलाइ समावेश गरिएको छ । बाँकी क्षेत्र नंं ३ .का लागि साविककै गाविसको बुर्तिवाङमा खेल हुनेछ । कार्यक्रममा समितिका अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, भीमसेन शाक्यको संचालन र शम्भु आचार्यको स्वागतमा सम्पन्न भएको थियो । खेल संचालनका लागि ११ लाख ४९ हजार रुपैयाँ खर्च हुने अनुमान छ । उक्त खेलका लागि राष्ट्रिय खेलकुँद परिषदले ६ लाख ९४ हजार रुपैयाँ अनुदान दिने परियारले जानकारी दिए । त्यस्तै फागुन ९ देखि १२ गते सम्म जिल्ला स्तरीय प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रत्येक क्षेत्रबाट प्रत्येक खेलमा ३ जनाका दरले खेलाडी छनौट भएर जिल्ला आउनेछन् । जिल्लाबाट बिजेता टोली क्षेत्रीय खेलका लागि पोखरा जाने बताइएको छ ।