बागलुङ, १३ माघ/सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था र लोक हित कृषि तथा बाख्रा उत्पादक सहकारी संस्थाबीच एकता भएको छ । समान उद्धेश्य बोकेकोले दुइ संस्था बीच फरक काम गर्नु नपर्ने भएकोले बुधवार एक कार्यक्रमको अयाोजना गरी एकता गरिएको हो । एकता गर्ने क्रममा लोकहितका शेयर सदस्य र केही संचालकको पदस्थापन बाहेक अरु सबै सिम्रिककै नेतृत्व स्विकारिएको बताइएको छ । उक्त अवसरमा बोल्दै डिभिजन सहकरी कार्यालयका प्रमुख बिष्णुप्रसाद शर्माले सहकारीलाइ कृषि उत्पादन तथा व्यवसायिक क्रियाकलापमा लगाउन सकेमा आत्मनिर्भरको बाटोमा लाग्न सकिने धारणा राखे । साथै उनले संख्यात्मक धेरै सहकारी भन्दा काम गरेर समाजलाइ सहकारी मार्फत आर्थिक उन्नतीको बाटोमा लैजान सकिन्छ भन्ने सन्देश दिनुपर्ने धारणा राखे । कार्यक्रममा सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्थाका अध्यक्ष मणीभद्र शर्माले जिल्लामा क्रियाशिल कृषि सहकारीहरुमा एक भिन्न र विशिष्ट पहिचान बनाउने उद्धेश्यले अगाडि बढेको धारणा राखेका थिए । साथै उनले विशेष प्रस्तुतीकरण गर्दै उखु, केरा र अदुवा तथा अन्य तरकारी खेती र माहुरीपालनलाइ व्यवसायिक बनाएर अगाडि बढीरहेको बताए र एकीकरण पछि पनि सबै शेयर सदस्यलाइ आर्थिक विकासको पाटोमा लाग्न लगाउने बताए । त्यसका लागि कृषि उत्पादन मार्फत कम्तिमा बागलुङको बजारमा खपत गर्ने लक्ष समेत राखेको उनको धारणा थियो । हाल एकीकरण पछि ६ सय २१ जना शेयर सदस्य र ५६ लाख ५९ हजार शेयर पूजि पुगेको पनि उनले जानकारी दिए । सहकारीले बैदेशिक रोजगारीमा जान र घर जग्गा खरिदका लागि भनेर ऋण लगानी नगर्ने नीति समेत बनाएको छ । मणीभद्र शर्माको अध्यक्षता, चुडामणी शर्माको संचालन र धनबहादुर कार्कीको स्वागतमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, सल्लाहकार दुर्गा कुँवर, डिलबहादुर कार्की, पत्रकार महासंघका सचिव दिल शिरिष र चित्रबहादुर कार्कीले बोलेका थिए । यो बर्षको पहिलो ६ महिनामा मात्र बागलुङमा ३ वटा सहकारीको एकीकरण भैसकेको सहकारी अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी गराएका थिए । धेरै सहकारीमा बस्ने प्रवृत्ति भन्दा थोरै र गुणस्तरीय सहकारीको परिकल्पना गर्ने अभियानमा सबै लाग्नुपर्नेमा उनले जोड दिए ।
Previous Articleफागुन १ देखि राष्ट्रपति रनिङ शिल्ड छनौट शुरु हुने
Next Article पञ्चकोटमा तेस्रो महायज्ञ गरिने