नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक भएको बुधबार ट्रान्सपरेन्सी इन्टर नेशनल नेपालले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । जारी सूचकांकमा नेपाल १३१ औं स्थानमा छ । यो अध्ययनमा १७६ देशलाई समावेश गरिएको थियो । गत वर्ष १६८ देशलाई समावेश गरिएको सूचकांकमा नेपाल २७ अंकसहित १३० औं स्थानमा थियो । नेपालले यो वर्ष पाएको अघिल्लो वर्षको अंक २ बढी हुनुले भ्रष्टचारको अवधारणामा सामान्य सुधार आएको हो कि भन्ने देखिएको छ । तर, नेपालले पाएको अंकमा भएको थोरै फेरबदलले भ्रष्टाचारमा कमी आएको भन्न नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्यूजिल्याण्ड परेका छन्भने १० अंक पाएको सोमालिया भने विश्वकै भ्रष्ट मुलुक बनेको छ ।
नेपालमा सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक तहबाट हुने गरेको छ । सत्ता र शक्तिको दुरुपयोग गर्दै राजनीतिक दलका नेताहरुले देशलाई कसरी समृद्वि बनाउने भन्दापनि अकुत सम्पत्ति जोड्ेने खेलमा लिप्त छन् । देशमा सुशासन कायम गर्ने राजनीतिक दल नै भ्रष्टाचारमा डुबेपछि भ्रष्टाचार मौलाउनु नौलो कुरा होइन । जबसम्म राजनीतिक दलमा सुशासन कायम गर्नेबारे सकारात्मक सोचको विकास हुँदैन तबसम्म देशमा भ्रष्टाचार मौलाउँदै जाने छ । बढ्दो भ्रष्टाचारकै कारण आज देशले विश्वमा लज्जाबोध गर्नु परेको छ । सार्वजनिक पदको दुरुपयोगका कारण नेपालमा भ्रष्टाचारको मात्रा अझै बढदै गएको छ । भ्रष्टाचार नियन्त्रण गर्नको लागि सबैभन्दा पहिले सार्वजनिक पद दुरुपयोगका घटनाहरु रोक्नु पर्छ । भ्रष्टाचार नियन्त्रणको मुद्दा सरकारको प्राथमिकतामा नपर्नु, बढ्दो दण्डहिनताका भ्रष्टाचारका कारण हुन् । कमिसन खानकै लागि राष्ट्रिय गौरवका आयोजनालाई समेत आफु निकटलाई सुम्पने खुलेआम चलखेल हुँदा पनि त्यसको विरोध गर्न नसक्दा भ्रष्टाचार मौलाउनु स्वभाविक हो । यस्ता मुद्दा नागरिक समाजबाट सचेत गराउन जरुरी छ ।
नेपालका कुन–कुन सरकारी कार्यालयमा भ्रष्टाचार हुन्छ भन्ने तथ्यांक पनि केही समय अघि सार्वजनिक भएको थियो । किटानी गरेरै तथ्यांक सार्वजनिक हुँदा पनि भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायले प्रभावकारी काम गर्न नसक्दा अहिले पनि सामान्य काममा घुस दिनुपर्ने अवस्था छ । नागरिकले छिटो कामका लागि घुस दिने प्रवृत्तिले पनि यो संस्कार जस्तै बनेको छ । त्यसैले भ्रष्टाचार नियन्त्रण गर्नको लागि हरेक नागरिकले सबैभन्दा पहिले आफूबाट शुरु गर्नुपर्छ । भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको विकास गर्नुपर्छ । भ्रष्टाचारीलाई हरेक ठाउँमा बहिष्कार गर्न आवश्यक छ । भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार गर्ने संस्कार आवश्यक छ । भ्रष्टाचारविरूद्धको संस्कृतिको विकास गर्न आवश्यक छ । हरेक नागरिक सचेत हुने होभने नेपालमा भ्रष्टाचार न्यूनीकरण सम्भव छ।
Previous Article२०७३ माघ १३ गते बिहीबारको राशिफल
Next Article फागुन १ देखि राष्ट्रपति रनिङ शिल्ड छनौट शुरु हुने