नुवाकोट, १२ माघ – नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महत अतिथि रहेको जागरण सभामा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा बीस जना घाइते भएका छन्। झडपमा प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ।
नेता महत नेपाली कांग्रेस क्षेत्र नम्बर २ नुवाकोटको जागरण सभा लिएर बुधबार ढिकुरे आएका थिए। ११ दिनदेखि लिखु गाउँपालिका माग गर्दै आएका स्थानीयवासी कार्यक्रममा नारा लगाउँदै थिए।
कार्यक्रमस्थल वरिपरि सशस्त्र र नेपाल प्रहरी खटिएका थिए। नारा लगाउँदै कार्यक्रमतर्फ ढुंगा प्रहार भएपछि भीडलाई तितरवितर पार्न प्रहरीले टियर ग्यास छोडेको थियो। त्यसपछि आधा घण्टा बढी आन्दोलनरत पक्षले खेतबाट ढुंगा प्रहार गरेपछि प्रहरीले थप अश्रुग्यास र रबरको गोली प्रहार गरेका थिए।
प्रहरीले भिड नियन्त्रण गर्दै ४७ राउण्ड रबरको गोली र २२ राउण्ड टियर ग्यास फायर गरेको थियो। भीड नियन्त्रण गर्ने क्रममा एक सशस्त्रका जवान घाइते छन्। आन्दोलरपक्षका १५ घाइते छन् भने ३ जनालाई रबरको गोली लागेको छ।
सूर्यमति–२ का सुजन न्यौपानेको गाला र पातामा, सोही वडाका लक्ष्मण गुणी तिघ्रामा, सूर्यमति–१ को कान्छा भण्डारीको नाकामा रबरको गोली लागेको छ। कृष्ण गजुरेल घाइते भएका छन्। सोही वडाका विकास पुलामीको खुट्टा भाँचिएको छ। थानसिङ–७ का नवराज रोक्काको हातमा चोट लागेको छ।
झडप शान्त भएपछि महतले भने, ‘यहाँ किन यस्तो भइरहेको छ? के सरकारको सहयोगमा प्रधानमन्त्री पार्टीकै सहयोगमा त आन्दोलन भइराखेको त छैन ?’
जुन पार्टी सरकारमा छ. उही नै जनजीवन कष्टकर बनाउन लागि परेकोमा नेता महतले आक्रोश पोखे। ‘यो तोडफोडको राजनीति किन? किन यो ढुंगा बसाईयो । किन आगमन रोकिएयो ?’ उनले भने । विरोध गर्ने छुट संविधानले दिएपनि अर्काको अधिकारलाई बाधा पार्ने काम र छुट कसैलाई नभएको उनले बताए।
पूर्व अर्थमन्त्री महत सहभागी भेलामा प्रहरीद्वारा गोली प्रहार
Previous Articleप्रेस चौतारी पत्रकारिता पुरस्कार सिग्देललाई
Next Article साँच्चै सङ्घीयता व्यवहारमा आयो भने