पोखरा, १२ माघ – प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७३ बाट पत्रकार श्रीराम सिग्देललाई सम्मान गरिने भएको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रतिभा छनोट समितिले सिग्देललाई उक्त पुरस्कारबाट सम्मान गर्न गरेको सिफारिसलाई बुधबार बसेको प्रेस चौतारी कास्कीको बैठकले अनुमोदन गरेको हो ।
प्रेस स्वतन्त्रा सेनानी तथा अग्रज पत्रकार बद्रीविनोद प्रतीकको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले सिग्ेदललाई सिफारिस गरेको हो । समितिको सदस्यमा प्रेस चौतारीका पूर्व अध्यक्ष रुद्रबहादुर थापा, केन्द्रीय सदस्य जमुना वर्षा शर्मा र पदेन सदस्य प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल र सचिव अर्जुन गिरी थिए । अध्यक्ष बरालका अनुसार सिग्देललाई माघ २३ गते हुने प्रेस चौतारी नेपालको प्रदेश भेला तथा प्रेस चौतारीको स्थापना दिवसको अवसरमा सम्मान गरिनेछ ।
प्रेस चौतारीको संस्थागत विकासको साथै प्रेस स्वतन्त्रता, लोकतान्त्रिक आन्दोलन र नागरिक अधिकारको संरक्षणमा योगदान पु¥याएको भन्दै सिग्देललाई सम्मान गर्ने निर्णय गरिएको हो । पुरस्कारको राशि ११ हजार १ सय ११, सम्मानपत्र र दोसल्ला रहेको प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए । पोखरा उपमहानरपालिका वडा नम्बर २२ आर्बाका सिग्देलले २०५४ सालमा आदर्श समाज दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् ।
सिग्देलले दृष्टि साप्ताहिक, भूगोल साप्ताहिक, भञ्झ्याङ दैनिक, इमेज एफएम, जनमत दैनिकहुँदै अहिले फेवा पोस्ट साप्ताहिकका सहसम्पादक पदमा कार्यरत छन् । सिग्देल प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष हन् । प्रेस चौतारी कास्कीले सञ्चालन गरेको उक्त पुरस्कारबाट यसअघि पुण्य पौडेल, माधव शर्मा, नवराज सुवेदी, रुद्रबहादुर थापा, हरि बास्तोला, बद्रीविनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी र निमदत्त सुवेदी सम्मानित भएका छन् ।