बागलुङ, १० माघ – नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्टले व्यवसायिक पत्रकारले संविधान कार्यान्वयनको लागि कमल चलाउनुपर्ने बताएका छन् । महासंघको जिल्ला शाखाको भवन शिलान्यास तथा नन्दहरी सिर्जनशिल पत्रकारिता पुरस्कार वितरण समारोहको अवसरमा बागलुङमा आयोजित एक कार्यक्रममा विष्टले राजनीतिक दलको भाषणको समाचार लेखनलाइ छाडेर एजेण्डामा जानुपर्ने बताए । वर्तमान अवस्थाको एजेण्डा भनेको संविधान कार्यान्वयन भएको भन्दै पत्रकारले संविधान कार्यान्वयनमा दललाई दवाव दिन सक्नुपर्ने बताए । परिवर्तन र विकासको एजेण्डामा पत्रकार सक्रिय रहनुपर्ने उनको भनाइ थियो । अवको एक बर्षभित्र तीनवटा निर्वाचन गरिसक्नुपर्ने राष्ट्रिय एजेण्डालाइ पत्रकार र नागरिक समाजले दवाव स्वरुप अगाडि सार्नुपर्ने पनि उनको सुझाव थियो । ‘निर्वाचन नगरी एक बर्ष बिताउने र एक बर्षपछि म्याद थप्ने अवस्था आउन दिनु हुँदैन’ उनले भने, ‘समयमै खवरदारी गर्ने र राजनीतिलाइ सही दिशामा हिडाउने पत्रकारको कर्तव्य हो ।’ राजनीतिक दलको विकल्प खोज्ने बिषय भने पत्रकारले गर्न नहुने उनले बताए । विकास, शान्ति र अग्रगमनका लागि पत्रकारको कलम मार्ग दर्शक बन्नुपर्ने उनले सुझाव दिए । साथै उनले २०६२/६३ को जनआन्दोलनको म्याण्डेडलाइ संचारमाध्यमले सकारात्मक रुपमा उठाउनुपर्ने उनको भनाइ थियो । ‘देशको नेतृत्व राजनीतिले गर्नुपर्छ, तर व्यक्तिगत स्वार्थमा लागेकालाइ निरुत्साहित बनाउन पनि प्रेस चाहिन्छ’ उनले भने, ‘राष्ट्रिय स्वार्थका लागि लाग्ने नेतृत्व र विकासमा लाग्नेलाइ भने सम्मान गर्न सक्नुपर्छ ।’ लोकतन्त्रको संस्थागत विकासका लागि संचारमाध्यम सक्रिय भएर लाग्नुपर्ने उनको धारणा छ । अर्को प्रसंगमा उनले आफ्नो कार्यकालमा श्रमजिवि पत्रकार ऐन कार्यान्वयनका लागि लड्नुपरेको बताए । साथै अधिकांस संचारमाध्यमले ऐन कार्यान्वयन गर्न थालेको पनि बताए । ‘पटक पटकका संघर्षबाट पत्रकारले न्युननतम पारिश्रमिक पाउन थालेका छन्’ उनले भने, ‘अझै पनि ठूला कर्पोरेट हाउसमा दवाव दिने काम जारी छ ।’ जेष्ठ पत्रकारको सुरक्षाको काम पनि थालिएको उनले जानकारी दिए ।
महासंघको भवन शिलान्यास
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माण अभियान शुरु भएको छ । आइतवार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्टले भवनको शिलान्यास गरेका छन् । जिल्ला बालकल्याण समितिबाट बागलुङ नगरपालिकाले ५० बर्षका लागि लिएको बानपा २ स्थित जिल्ला स्वास्थ्य कार्यालय अगाडिको जग्गामा भवन शिलान्यास गरिएको हो । उक्त स्थानमा ४ तले अत्याधुनिक भवन बनाइने योजना छ । जसमा महासंघको कार्यालय, सभाहल, सूचना केन्द्र र अनाथालय समेत राखिने छ । उक्त भवनका लागि झण्डै १ करोड रुपैयाँ लाग्ने अनुमान भएपनि तत्कालका लागि संकलित १२ लाख रुपैयाँबाट भवन निर्माण अभियान थालिने जिल्ला अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । भवन निर्माणमा बागलुङ नगरपालिकाले सहयोग गर्ने योजना छ । त्यस्तै भवन डिभिजन कार्यालयले प्राविधिक सहयोग गर्ने आश्वासन समेत दिएको छ । २०५७ सालमा महासंघको शाखा स्थापना भएपछि आफ्नै भवन बनाउने अभियान शुरु भैरहेपनि पहिलो पटक अवसर आएको भन्दै सबैको सहयोग पाउने उनले बताए । महासंघको केन्द्रीय समितिले पनि भवन निर्माणका लागि सूचना तथा संचार मन्त्रालयबाट दिइने ५ लाख रुपैयाँ अनुदानको पहल गर्ने विष्टले बताएका थिए ।
कँडेललाई नन्दहरि पुरस्कार
पत्रकार महासंघका केन्द्रीय सदस्य हरिनारायण गौतम र उनको परिवारले आफ्ना बाबु हरिलाल र आमा नन्दकलीको नाउँमा स्थापना गरेको ‘नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कार’ पत्रकार कोपिला कंडेललाइ प्रदान गरिएको छ । आइतवार आयोजित महासंघको भवन शिलान्यास कार्यक्रममा उनलाइ पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राशी १५ हजार १ सय ५० रुपैयाँ छ । २०५६ सालमा स्थापना गरिएको यो पुरस्कार अहिले सम्म पत्रकारहरु राजेशचन्द्र राजभण्डारी, म्याग्दीका घनश्याम खड्का, पर्वतका दुर्गा प्रसाद शर्मा, ओमप्रसाद घायल र बागलुङकै ज्ञानेन्द्र गौतमलाइ प्रदान गरिसकिएको छ । जेष्ठता, निरन्तरता र क्रियाशिलताको आधारमा पुरस्कार दिने गरी व्यवस्था गरिएको छनौट समितिले बताएको छ । पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, ज्ञानेन्द्र गौतम र संस्थापक हरिनारायण गौतम सहितको टिमले पुरस्कार छनौट गरेको हो । पुरस्कार पाएपछि पत्रकार कंडेलले निरन्तरको संघर्ष र पत्रकारिताबाट समाज रुपान्तरणको अभियानमा हिडेकोमा पुरस्कृत गरिएकोमा खुसी लागेको भन्दै अगुवाहरुको सदभावले आँफू यो स्थानमा आइपुगेको समेत बताइन् । महासंघका जिल्ला अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता, सचिव दिल शिरिषको संचालन र कोषाध्यक्ष ताराप्रसाद शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारी, महासचिव उजिर मगर, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, सहायक प्रजिअ धु्रव गिरी, बागलुङ सूचना तथा संचार सहकारीका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, पूर्व अध्यक्ष रामबहादुर जिसी र पुरस्कारका संस्थापक हरिनारायण गौतमले पनि बोलेका थिए ।