बागलुङ, १० माघ – एएफसी सोलिडारिटी कप विजेता नेपाल एसियन कप २०१९ अन्तिम चरणको छनोटमा फिलिपन्स, ताजिकिस्तान र यमनसँगै समूह ‘एफ’मा परेको छ । अवुधावीमा सोमबार गरिएको ‘ड्र’मा नेपाल ‘पट ४’ मा रहेको थियो । त्यसैले नेपालले ‘होम एन्ड अवे’को आधारमा हुने अनितम चरणको छनोटमा स्वभाविक रुपमा बलियो टिमको सामना गर्नुपर्ने भएको छ ।
नेपाल फिफा वरीयताको १ सय ७५ औं स्थानमा छ । वरीयतामा तीनै प्रतिद्वन्द्वी नेपालभन्दा माथि छन् । यमन १ सय ४९, ताजिकिस्तान १ सय ३२ र फिलिपिन्स १ सय २२ औं स्थानमा छन् ।
नेपालले फिलिपिन्ससँग पछिल्ला समय निरन्तर हार बेहोर्दै आएको छ । र, उही टिमसँग फिलिपिन्समै २८ मार्च, २०१७ मा हुने खेलबाट नेपालले एसियन कप २०१९ मा अन्तिम चरणको छनोट सुरु गर्नेछ ।
अन्तिम चरणको छनोटमा २४ टिम सहभागी छन् । उनीहरुलाई ‘ड्र’मार्फत् चार–चार टिमको ६ समूहमा राखिएको छ । प्रत्येक समूहको शीर्ष दुई टिम एसियन कपमा छनोट हुनेछन् । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया, जापानलगायत विश्वकप २०१८ मा एसियाली छनोटको अन्तिम चरणमा पुगेका १२ देशले यसअघि नै एसियन कपको यात्रा पक्का गरिसकेका छन् ।
नेपालले फाइनलमा मकाउलाई हराएर नोभेम्बर, २०१६ मा भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो । यसवीच गुआमले एसियन कप छनोटबाट हात झिक्यो र कुवेत फिफाको कारबाहीमा पर्यो । त्यसैले एसियाली फुटबल महासंघ ९एएफसी० ले सोलिडारिटी कपको नतिजाको आधारमा नेपाल र मकाउलाई फेरि एसियन कप छनोट खेल्ने अवसर दिएको हो । त्यसअघि नेपाल एसियन कप छनोट चरणको प्ले–अफमा भारतसँग हारेको थियो ।
नेपालका खेलहरु
२८ मार्च २०१७ फिलिपन्सविरुद्ध (अवे)
१३ जुन, २०१७ यमनविरुद्ध (होम)
५ सेप्टेम्बर, २०१७ ताजिकिस्तानविरुद्ध (होम)
१० अक्टोबर, २०१७ ताजिकिस्तानविरुद्ध (अवे)
१४ नोभेम्बर, २०१७ फिलिपिन्सविरुद्ध (होम)
२७ मार्च, २०१८ यमनविरुद्ध (अवे)
Previous Article‘संविधान कार्यान्वयनमा पत्रकारले कलम चलाऔं’
Next Article सुन भित्रिने विमानस्थलबाट हतियार भित्रिए के हुन्छ ?