बागलुङ, ९ माघ – धौलागिरीकै सबैभन्दा जेठो विद्यामन्दिर पुस्तकालयको ७० औं साधारणसभा तथा ३४ औं अधिवेसन शनिवार बागलुङमा सम्पन्न भएको छ । अधिवेसनले दोश्रो कार्यकालका लागि राजेशचन्द्र राजभण्डारीलाइ अध्यक्षमा पुन निर्वाचित गरेको छ । पुस्तकालयको भौतिक तथा व्यवस्थापकीय सुधार अभियानमा पहल गरेको भन्दै सदस्यहरुले राजभण्डारीलाइनै दोश्रो कार्यकालका लागि निर्वाचित गरेको हो । अध्यक्षले अन्य पदाधिकारी चयन गर्ने प्रावधान भएकोले अधिवेसनबाट अध्यक्ष मात्र चुनिएका हुन् । साधारणसभाको उद्घाटन गर्दै धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले पुस्तकालयले दिएको ज्ञान र शिपको कारण अहिले पनि शिक्षा, संस्कृति र साहित्यमा बागलुङ अब्बल भैरहेको बताए । उनले पठन शैलीको विकास गर्दा शिक्षाको गुणस्तरमा पनि विकास भएको उनले बताए । पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, सचिव राम थापा अविरलको संचालन र उपाध्यक्ष रामप्रसाद शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ बासु, बागलुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ, सल्लाहकारहरु देवबहादुर श्रेष्ठ, काजी रोशन, प्रेम छोटा, लालचन्द्र राजभण्डारी, शैलेन्द्र श्रेष्ठ, महेशचन्द्र प्रधान, बिना कार्की, पूर्व अध्यक्ष विकास शाक्य, पत्रकार महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगायतले बोलेका थिए । उक्त अवसरमा पुस्तकालयाध्यक्ष मञ्जु केसी, पुस्तकालयको बाल विकास केन्द्रकी सहजकर्ता उमा सुवेदी लगायतले पुस्तकालयको अनुभव बारेमा बोलेका थिए । सोही अवसरमा पूर्व अध्यक्ष महेशचन्द्र प्रधानले आमा बाबुको स्मृतिमा स्थापना गरेको हरिमोहन स्मृति कोष बाट पूर्व अध्यक्ष महेश चन्द्र राजभण्डारीलाइ सम्मान गरिएको थियो । ५० हजार रुपैयाँबाट स्थापित अक्षयकोषबाट १० हजार नगद सहित सम्मान गरिएको हो । त्यस्तै पुस्तकालयमा नियमित पढ्न आउने पाठकबाट प्रताप राज पन्तलाइ पुरस्कृत समेत गरिएको थियो । उक्त पुरस्कार रत्न श्रेष्ठ पुरस्कार गुठीका अध्यक्ष प्रेम छोटाले स्थापना गरेको कोषबाट दिइएको हो । कार्यक्रममा सचिव राम थापा अविरलले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र कोषाध्यष रामचन्द्र शर्माले प्रस्तुत गरेको आथिृक प्रतिवेदन पारित गरिएको थियो । पुस्तकालयले अहिले एक व्यक्ति एक हजार रुपैयाँका दरले सहयोग संकलन गरेर विद्युतीय पुस्तकालय निर्माण अभियान संचालन गरिरहेको छ । त्यसका लागि गैर आवासीय नेपालीहरुले पनि सहयोग गरेका छन् । पुस्तकालयको अध्यक्षमा पुन निर्वाचित भएका राजभण्डारीले दोश्रो कार्यकालमा पुस्तकालयलाइ आर्थिक र भौतिक रुपमा अझै सवल बनाएर लैजाने प्रतिवद्धता समेत जनाएका थिए । आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाइ अध्यक्ष राजभण्डारीले प्रमाणपत्र पनि प्रदान गरेका थिए ।