तीते करेली
कृष्णराज शर्मा
शीर्षकले नै प्रिय पाठक मित्रहरूलाई चख्खै पारे होला । किनकि कुनैपनि रूपको चन्द्रमा औंशीमा सोच्नै सकिंदैन । म यो पनि भलिभाँती जान्दछु कि औंशीमा चन्द्रमाको कल्पना गर्नु मुर्खता मात्रै होईन पागलपन हो । तर कहिलेकांही औंशीको रातमा हेरि खोजी गर्ने हो भने चन्द्रमा भेटिंदो रहेछ । औंशीमा चन्द्रमा देख्नु फेरीपनि कम पागलपन होईन । पागलै सही, चन्द्रमा देख्दैछु औंशीमा । यो मेरो हदैसम्मको सकारात्मकता हो । जुन हुनै सक्दैन । मेरो देशमा औंशीले घेरेको छ । कतै पनि उज्यालोको छनक मैले भेटाउन सकेको छैन । सबैले अंध्यारोमा कोलाहल गरिरहेको यथार्थ छ । तर मैले यो कोलाहल भित्र,यो अन्धकार भित्र,पर धेरै पर, ऊ पर क्षितीजमा उज्यालो देखिरहेको छु । यो औंशीको रातमा चन्द्रमा उदाएको देखिरहेको छु । त्यो चन्द्रमा हो म भनिरहेछु । म गलत भैरहे हुँला । होला, म मा पनि दृष्टिभ्रम होला । तर यो मेरो दृष्टिभ्रम होईन । देखेको सत्य हो । चन्द्रमा देखिरहेछु । अंधेरी रातमा उज्यालो आउँदैछ । तारा जस्तो लाग्ने त्यो तारा चन्द्रमा नै हो । म ठोकेरै भन्दैछु । चन्द्र बर्षले दिने उत्तम फल सूर्य बर्षले रोक्दैन । हो, त्यही चन्द्रफलको भरपर्दो चांदनी रातको धुमधाम् अपेक्षा मेरो विश्वासमा कत्तिपनि डगमगाएको छैन । क्षितिजमा, ऊ पर औंशीको रातमा चन्द्रमा झलमल्ल हुँदै मेरै भूगोलतिर आई रहेको छ । धैर्यताको पर्खाल अड्नु पर्छ । आत्तिनु हुँदैन, दुःख पछि सुख आउँछ–आउँछ । र सुखै सुखमा पनि दुःखले पदार्पण गर्छ–गर्छ । यो सनातन देखिको चलन हो । औंशीकै रातमा औंशी चीरेर चन्द्रमा उदाउने छन् । आज औंशीको रात झैं मेरो देश पनि अन्धकार छ । यो अन्धकार हटेर उज्यालो देख्ने लालसा हरेक नेपालीमा प्रबल छ । यो अँध्यारो हट्ने विश्वास घट्दो छ मान्छेको मनमा । राहु केतुहरू यस्तै अन्धकारमा रौद्र रूपमा ताण्डव नृत्य गरिरहेछन् । मनुवाहरूलाई यिनको नृत्यले अँध्यारो भविष्य अझै कति लम्विने हो भन्ने चिन्ता व्याप्त छ । तर दुष्ट ग्रहहरूलाई मन्साउन र हटाउन देऊतालाई पनि चुनौती बनेको छ । फेरी पनि उज्यालो उदाउने छ । र यि राहु केतुहरू भागा भाग गर्नेछन् । त्यही उज्यालो धेरै परबाट सुस्त गतिमा हामीतिरै आईरहेको छ ।
भूकम्पले आफ्नो थातथलो उजाड बनेर लाखापाखा बनेको छन् गोर्खाली आमाहरू । सन्तान तोप्ने न्यानो खरको छानो पनि ऊ संग छैन । बाईबलको बुकसंगै आएको पाल कति चीसो हो । उनका लालाबाला कति कठ्याङ्गरिए । दुःखम् सुखम् खनि खोस्री खाएको आनन्द छैन । रूखोसुखो खाएजस्तो स्वाद छैन बाईबल मिसिएको अन्नपानीमा । बेलाबेलामा बाईबलको सोझो चिताउनु पर्छ भन्नेहरू देखेर झरक्क गर्छिन आमा । भन्छिन्– भो लैजाऊ तिम्रो जात भात र धर्म, खुरूक्क मेरो थातथलो मिलाई देऊ ! भूकम्पको मूल उम्रेको वरिपरीका आमाहरूको नियति यही बनेको छ । हे दैव ! मलाई पनि माटोमुनी किन हालिनस् ? यस्तो अपहत्य मलाई किन देखाईस् ? औंशीको धैंसो जस्तो कालो रातमा आकाशतिर फर्केर ट्वाल्ल पर्छिन् आमा र यि प्रश्न सोध्छिन् राहु केतुको ताण्डवनृत्य हेरिरहेका देऊताहरूलाई । यही त हो मेरो देश । यिनै त हुन् मेरी आमाहरू । औंशीको रातमा ठम् ठम् हिड्न सक्ने मेरी आमाहरू ! सिंहदरबार मात्रै देश देख्नेहरूले गोर्खाली वीर सन्तानकी आमाको गाउँलाई देश देख्दैनन् । तर आमा वीरङ्गना हुन् । यो अँध्यारोमा पनि आँखा देख्छिन् ति आमाले । मूलको पानी पिएर दूध झार्छिन छातीको लाम्टोबाट । त्यो दुधे बालकलाई उज्यालो देखाउन । मूलको पानीको दूध पिएर अँध्यारो चीर्दै फोर्दै उज्यालोको दैलो उघार्ने छ आमाको बहादुर छोराले । भरमग्दुर प्रयासरत छिन् आमा । बहादुर छोरो हुर्काउन तल्लीन छिन् आमा । औंशीको रातमा चन्द्रमा देख्दैछिन् आमा ।
यही अँध्यारो औंशीको रातमा ब्वाँसाहरू तराईतिर डुक्रँदै छन् । राहुकेतुहरू ब्वाँसाका चोचोमा मोचो मिलाउँदैछन् । सीके राउतहरू अँध्यारोमा बिजुली बालेर उफ्रँदै छन् । सीमापारी बाट बिजुली कहिल्यै ननिभ्ने गरी सप्लाई हुँदैछ । यही बिजुलीमा ब्वाँसाहरू सँधै चार्ज भैरहने छन् । उफ्री उफ्री नेपाल आमालाई चिथोर्ने छन् । तर तराई मधेशमा लालु यादवहरू भन्दा लालबावु जस्ता होनहार बावुहरूले देशलाई चुँडाल्न दिने छैनन् । सरकार त राहुकेतु न हो । देश खण्डित भएको देखे बाँदर नाचे झैं नाच्ने छ । मदारीको सिप्कोले हानेर बाँदर नाच्नै पर्नेछ । मदारीको उद्देश्य पुरा नहोञ्जेल निरन्तर नाच्नेछन् बाँदरहरू । बारम्बार मदारीले नाकमा सिप्को मार्दा पनि बाँदर बोल्ने छैन । बाँदर नाच हेर्नेलाई बरू दुःख्ला बाँदरलाई दुःख्ने छैन । उफ्री उफ्री तमासा देखाउने छ । यसो हुनु पनि औंशीको अँध्यारोको दोष हो, सरकारको होईन । एकाध माननीयहरू औंशीमा चन्द्रमा खोज्ने साहस जुटाउँदैछन् । एउटै नेपाल एउटै देश खोज्दैछन् । औंशीको रातमा चन्द्रमा खोज्दैछन् ।
यही अँध्यारो देशमा ऋणले चुर्लम्म डुबेको मान्छेले एक रूपैयाँको चिट्ठा किनेर एक करोड पाउने भरोसामा बाँच्छ । हजार प्रयत्नले पनि ऋण मुक्त हुन नसकेर एक रूपैयाँले ठूलै धनराशी हात पार्ने सपना बुनेको हुन्छ त्यो टिकटमा । चिट्ठाको नतिजाले बज्र हान्छ मुटुमा । अब त चिट्ठा किन्ने एक रूपैयाँ पनि छैन । हामफाल्छ अरबको खाडीमा । चिनेका न जानेकाहरूको खटन पटन असह्य छ । मुदीरको धाक् रवाफले असह्य हुन्छ । देश सँझन्छ । देश अँध्यारो छ । उज्यालो छैन । मर्नु न बाँच्नुको दोसाँधमा केटो भक्कानिन्छ । आफ्नो देशको युवा खाडीको बहादुर केटो हो । उसको जीवनको औंशीमा कतै उज्यालो भेटाउन्न । नेपाल जाने काठको प्लेन त होईन ? आँफैलाई सोध्छ । घर फोन गर्छ आमालाई । भन्छ– आमा, भाइलाई राम्रोसंग पढाउनु है । म पैसा पठाउँला । अँध्यारो चीर्ने भाइ चाहिन्छ आमा । औंशीको चन्द्रमा बनोस् मेरो भाइ आमा । यसरी आमासंग हाँसी हाँसी बोलेको छोरो काठको प्लेन चढेर एक महिनामै घरको आँगनीमा आयो । आमा मुर्छा परिन् । र जुरूक्क उठ्दै डाँको छोडेर चिच्याईन् । छोरा तेरो भाइले पढ्छ छोरा । तँलाई बैंश देख्न नदिने औंशीको रात फुटालेर चन्द्रोदय हुन्छ छोरा । तेरो भाइ औंशीको चन्द्रमा हो बाबु । माथीबाट हेर्दै गरेस् ।
पच्चीस बर्षको उमेरसम्म निरन्तर अध्ययन गरेर देशको एक योग्य नागरिक बनेको एक निराश छ । नर्सरी देखि डिग्री हासिल गर्दासम्म लगानी गर्दा गर्दा अभिभावक दिक्क हुन्छन् । छोराले कतै ईलम नभेटाएर डुकुलण्ठु बनेको देखेर हैरान हुन्छन् । छोराले योग्यता अनुसार काम पाएर ठूलो मान्छे बन्ला भन्ने कत्रो आशामा कुठाराघात हुन्छ । औंशीको काल रात्रीले उनका सुन्दर सपनाहरू घेराबन्दीमा पार्छ । अनपढ छैन डिग्री छ हातमा । साथीहरूले ठाउँ पाईसके । कुनै नेतालाई चिनेको छैन । ठूलो मान्छे बन्ने सपना । वंशको शान राख्ने सपनाहरू सपना मै सिमीत भए । बजारमा भौंतारिन थाल्छ । कतै केही भेट्दैन । बजार बजार जस्तो छैन । शहर शहर जस्तो छैन । चारैतिर अँध्यारो देख्छ । घुम्दा घुम्दै आशाको किरण देख्यो । “अमेरिका जान यता आउनुस् । डिभी भर्नुस् । भरे पो पर्छ नभरे कसरी तपाईंलाई पर्छ । यसपाली तपाईंकै हो पालो ।’’ यो देखेर हुत्तिन्छ त्यतै । एकघण्टामा डिभीको काम तमाम भयो । मन्द मुस्कान छर्दै बाहिर निस्क्यो । अघि अँध्यारो देखिएको शहर अहिले रमझम लाग्यो । फुर्फुर फुर्फुर गर्दै ठूल्ठूला सडकमा जुरेली चरी झैं नाच्यो । आमालाई जागीर मिल्ला जस्तो छ । दुईचार महिना पर्खनु पर्छ भनेर फोनमा सुनायो । गाउँ फर्क्यो । थोत्थोरै पढेका र उपाए नलागेर गाउँमै अल्झेका साथीहरूका अघि जागीर पाईएला जस्तो छ मात्रै सुनायो । डिभीको कुरा लुकायो । डिभीको नतिजा आएपछि डिप्रेशन पर्यो । टोलाउने र लोलाउने उसको दिनचर्या बन्यो । मुटुभरीको मायाँ टाढा भई । आमाबाबाको घर आँगनीमा नौमती बाजा छिट्टै बजाउने धोको के हो,के हो भयो । आमालाई औंशीको रातमा अर्को औंशी थपियो । आमा चिच्च्याईन्– “छोरा हाम्रो देश यस्तै छ छोरा ! तँ पढेर ठूलो मान्छे भएस भनेर बर्षेनी दशैंमा आशीर्वाद दिन्थें । आमाको आशीर्वाद पनि काम लागेन छोरा । आज तेरो यो गति भयो,बाबु । पख,म तेरो सानु भाइलाई देशको औंशी चीरेर उज्यालो चन्द्रमा निकाल्न लगाउँछु ।“ घरको पिंडीमा त्रिभुवन विश्वविद्यालयको डिग्रीको प्रमाण पत्र मरेको छ । डिग्री पास गरेको छोरो ठूला आँखा पल्टाएर टोलाएको छ । घरीघरी पिंडीमा पल्टेको छोराको मुख हेर्दै भन्छिन आमा– “बाबु धीरज गर । म यही औंशीको रात फटालेर चन्द्रमा झार्छु । एक, दुई तीन झार्छु !’’
अन्तमा, म यि आमाहरूको चहराई रहेको घाऊमा मल्हम बन्न चाहन्छु । जीवनभर सँधै दिउसै अँध्यारो बनाउनेहरूको दोहोलो काढ्न चाहन्छु । चूक जस्तो यो अँधेरो फाँड्न चाहन्छु । मैले देखेको छु यो औंशीको रातमा पर पर क्षितिजमा रहेको चन्द्रमा आफ्नै अक्षमा आउने छ । आफ्नै कक्षमा घुम्ने छ । औंशीको तिथीमिति नै ध्वस्त पार्न त्यो चन्द्रमा उदाउने छ । औंशीमा चन्द्रमा उदाउने छ । आमाहरू उजेली देखिनेछन् । आमाको चन्द्रवदन मुहार हाँस्नेछ । धपक्क बल्नेछ ! धन्यवाद ।
Previous Articleमन्त्री मण्डल विस्तारबारे
Next Article विमपुको अध्यक्षमा पुनः राजभण्डारी