बागलुङ, ६ माघ – धवलागिरी बहिरा विद्यालयमा सहयोग गर्दै आएको प्लान इन्टरनेशनलले हात झिकेपछि कम्प्युटर इन्जिनियरिङ पढाइमा असर परेको भन्दै विद्यालयका शिक्षक, संस्थापक र विद्यार्थीले सहयोग थप्न माग गरेका छन् । बुधवार पत्रकार सम्मेलन गरेर संस्थापक केवी रानाले बहिरा विद्यार्थी अध्ययन गर्ने विद्यालयलाइ राज्य र राज्यसँग सहकार्य गर्छु भन्ने अन्तराष्ट्रिय गैरसरकारी संस्थालेनै अपहेलना गरेको आरोप लगाए । उनले नेपाल सरकारको शिक्षा विभागले गरेको आग्रहलाइ समेत प्लान इन्टरनेशनलले वेवास्ता गरेको आरोप लगाए । गत कात्तिक २९ गते शिक्षा विभागले प्लानलाइ चिठी लेखेर बिराट बहिरा विद्यालय र धौलागिरी बहिरा विद्यालयलाइ उपलब्ध गराउँदै आएको सहयोग मध्ये १ प्रशिक्षक, एक सहायक प्रशिक्षक र एक दोभाषेको तलब तथा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गरेको थियो । उक्त आग्रह पछि गत महिना प्लानले विभागलाइ चिठी लेखेर सहयोग दिन नसकिने भनेको हो । उक्त बोधार्थ पत्र आएपछि विद्यालयमा कार्यरत इन्जिनियर, कम्प्युटर प्रशिक्षक र दोभाषेलाइ तलब खुवाउन समस्या परेको हो । आउने साउन देखि सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्ने भनेपनि ६ महिनाका लागि झण्डै १३ लाख २९ हजार रुपैयाँ लाग्ने भएकोले उक्त खर्च व्यहोर्न नसक्दा पठनपाठनमा गम्भिर समस्या आउने विद्यालयको ठहर छ । ‘प्लानले बैठक पनि डाकेन, छलफल पनि गरेन, चिठी पठाएर सहयोग गर्दैनौं भन्यो’ रानाले भने, ‘राज्यको नीति नमान्ने संस्था किन चाहियो ? सबैलाइ शिक्षा कार्यक्रमको समेत उपहास भएको छ, त्यसको मार अपांगता भएका बालबालिकामा परेको छ ।’ प्लानले अपांगता र दलित सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ । दुइ बर्षदेखि बहिरा विद्यालयमा कम्प्युटर इन्जिनियरको प्राविधिक धार पढाइ भैरहेको छ भने विराटनगरमा सिभिल इन्जिनियरको पढाइ भैरहेको छ । विभागले पहिला पैसा छैन भन्दा प्लानले सहयोग गर्ने आश्वासन दिएपछि मात्र पढाइ शुरु भएको थियो । प्लानले गरेको सम्झौता डिसेम्बरमा सकिन लागेकोले विभागले तीन महिना अघिनै पत्र पठाएको थियो । ‘सरकारले पनि नहेर्ने, प्लानले पनि नहेर्ने ? गरिव परिवारका अपांग बालबालिका पढ्ने विद्यालय भएकोले अभिभावकले पनि सहयोग गर्न नसक्ने उनले गुनासो गरे । शिक्षक शिव कंडेलले तलब नपाएपनि यो शैक्षिक शत्र सम्म पढाउन नछाड्ने बताए । ‘उनले विद्यार्थीको भविष्यलाइ हेरेर साउन सम्म तलब जताबाट आएपनि पढाइलाइ भने निरन्तरता दिनेछु’ कंडेलले भने, ‘चितवन देखि घर छाडेर आएर पढाएका छौं, तलब नहुँदा निकै कठिन हुन्छ, तर पनि बालबालिकाको भविष्य प्रति दायित्व बोध गरेका छौं ।’ अर्का शिक्षक सन्तोष पौडेलले पनि सरकारको आग्रहलाइ प्लानले स्विकार गर्नुपर्ने धारणा राखे । त्यस्तै विद्यालयमा गठित बहिरा बाल क्लबका अध्यक्ष बासु थकालीले अभिभावकको समस्या भएकै कारण आएर पढेकोले सहयोग नपाएमा पढाइमा असर पर्ने धारणा राखेका थिए । सहयोग रोकिएको बारेमा बुझ्दा प्लान इन्टरनेशनल नेपाल बागलुङ क्षेत्रीय कार्यालयकी प्रवन्धक नितु आचार्यले केन्द्रीय रुपमा भएको सम्झौता सकिएकोले सहयोग गर्न नसकिएको बताइन् । ‘सहयोग गर्दैमा तोकिएको समयमा कन्ट्याक्ट गरेका थियौं’ आचार्यले भनिन्, ‘हामीले चाहेर पनि नसक्ने अवस्था आएको हो, त्यसका लागि विद्यालयले आन्तरिक रुपमा कसरत गर्नुपथ्र्यो ।’ सरकारले पनि असार मसान्त सम्म कुनै न कुनै रुपमा सहयोग गर्ने संभावनालाइ खोज्न लाग्नुपर्ने सुझाव दिइन् । अन्तराष्ट्रिय संस्था भएकोले यहाँका एकदुइजनाले भन्दैमा सहयोग आउन नसक्ने समेत उनले बताइन् ।
Previous Articleसेमिफाइनलका खेल आजदेखि
Next Article सरकारको प्राथमिकतामै परेन निर्वाचन