बागलुङ, ६ माघ – ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय बागलुङले बुधवार विश्व शान्ति दिवश मनाएको छ । एक कार्यक्रमका बीच विश्व विद्यालयका संस्थापक ‘पिताश्री प्रजापिता ब्रह्माको ४८ औं स्मृति दिवशको अवसरमा श्रद्धाञ्जली कार्यक्रम पनि गरेको हो । सन् १९३६ मा आफ्नो सबै व्यपार र सम्पत्ति समेत खर्चेर विश्वविद्यालयमा लगाएपछि लेखराज दादाको स्मृतिमा शान्ति दिवश मनाउन थालिएको हो । उक्त अवसरमा प्रजिअ भागिरथ पाण्डेयले मानव मानव बिचको द्वन्द्वले विश्व शान्ति खलवलिएको भन्दै भातृत्व प्रेमबाट शान्ति कायम गर्न सकिने धारणा राखे । उनले दिनदिनै बढेको हिंसा लाइ अन्त्य गर्नका लागि यस्ता विश्व विद्यालय र दिदीबहिनीहरुको अगुवाइमा भएको अभियान सफल भएको पनि बताए । विश्वविद्यालयले विश्व शान्तिको अभियानमा अगुवाइ गर्नुपर्ने उनको मत थियो । कार्यक्रममा विश्व विद्यालयकी प्रमुख संचालिका सावित्री दिदीले आफ्ना कमीकमजोरीलाइ हवन गरेर सबैलाइ बन्धुत्व र भातृत्वको सम्बन्धमा ल्याउन सकेमा विश्व शान्ति हुने बताइन् । उनले मन शान्ति, घर शान्ति र समाज शान्ति भएमा विश्व शान्ति हुने भएकोले व्यक्तिको मन बाटै शान्ति ल्याउनुपर्ने बताइन् । त्यसका लागि रिस, क्रोध र मोह त्याग गर्न सक्नुपर्ने समेत बताइन् । कार्यक्रममा सहभागिले विश्व विद्यालयको महत्व र प्रजापिता ब्रह्मा र भगवान शिवको चर्चा समेत गरेका थिए । १८ जनवरीलाइ यो दिवशको रुपमा मनाउने गरिंदै आइएको छ ।