काठमाडौँ, ५ माघ – नेपाल, चीन र भारतबीचको त्रिपक्षीय सहयोग एवं सहकार्यका लागि पारस्परिक विश्वास अपरिहार्य भएको नेपाल र चीनका विद्वत् वर्गले बताएका छन्। चिनियाँ समाचार समिति (सिन्ह्वा) र चीनको हुवेइ विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेको दुईदिने ‘चीन–नेपाल विद्वत् समूह सम्मेलन’ को अन्तिम दिन बुधबार चिनियाँ टोलीका प्रतिनिधिले आपसी विश्वास र साझेदारी प्रवद्र्धनमा जोड दिएका हुन्।
नेपाल–चीन सम्बन्ध र ‘एक क्षेत्र, एक मार्ग’ अवधारणाप्रति कार्यपत्र प्रस्तुत गर्दै सिचुवान विश्वविद्यालयका दक्षिण एसिया अध्ययन केन्द्रका प्राध्यापक लि ताओले राष्ट्रपति सि जिनपिङले प्रतिपादन गरेको सो अवधारणाबाट नेपाललाई पाँच क्षेत्रमा फाइदा हुने बताए। चीन र दक्षिण एसियालाई सडक यातायात सञ्जालबाट जोड्न सकिने नेपालको भौगोलिक अवस्थिति, धार्मिक एवं सांस्कृतिक आदानप्रदान तथा जनता–जनताबीचको सम्पर्क विस्तारका निम्ति नेपाल केन्द्रविन्दु बन्न सक्ने वास्तविकता औँल्याउँदै उनले नेपालको अपार प्राकृतिक सम्पदा र स्रोतको उपयोग आर्थिक विकासका लागि गर्न सकिने बताएका थिए।
समानता, मेलमिलाप, सबै पक्षलाई मान्य हुने र कसैले पनि असन्तुष्ट हुनुनपर्ने सो अवधारणालाई शक्ति सन्तुलनमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताउँदै उनले चीन र भारतबीच राजनीतिकस्तरको अविश्वास घटाउन समदूरीको कूटनीतिक प्रयास गर्न सकिने विचार व्यक्त गरेका थिए।
पूर्वमहान्यायाधिवक्ता युवराज सङ्ग्रौलाले नेपाललाई कसैको क्रिडास्थलका रुपमा विकसित हुन नदिन चीनको सहयोग आवश्यक भएको बताउँदै नेपालको आर्थिक, सामाजिक, विकासका साथै भौतिक पूर्वाधार निर्माणमा चिनियाँ सहयोगको मात्रामा थप वृद्धि हुनुपर्ने विचार राखेका थिए। दुइदिने थिङ्क ट्याङ्क भेलामा सहभागी हुन चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यसहित १४ जना चिनियाँ विद्वानहरु नेपाल आएका थिए। रासस
नेपाल, चीन र भारतबीच त्रिपक्षीय सहकार्य-चिनियाँ विद्वत् समूह
Previous Articleजिल्ला परिषद पर्ख र हेरको अवस्थामा
Next Article उच्च अदालतमा सिफारिस ८० न्यायाधीशको सपथ