काठमाडौँ, ५ माघ – उच्च अदालतमा सिफारिस भएका न्यायाधीशले बुधबार सर्वोच्च अदालतमा एक समारोहबीच पद तथा गोपनीयताको सपथ लिएका छन् । न्यायाधीशलाई तोकिएको अदालतसम्बद्ध उच्च अदालतका मुख्य न्यायाधीशले पद तथा गोपनियताको सपथ खुवाएका थिए । गत पुस २८ गते बसेको न्याय परिषद वैठकले बहुमत निर्णयका आधारमा उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।
यसैबीच न्यायाधीश सिफारिस गर्दा समानुपातिक र समावेशि सिद्धान्तविपरित मध्यरातमा निर्णय भएको दाबीसहित बदर गर्न माग राखेर बुधबारै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता तोयानाथ ढुंगानाले दायर गरेको उक्त रिटमा परिषद अध्यक्ष एवम् प्रधानन्यायाधीश सुशीला कार्की, परिषद्का सदस्य र सिफारिसमा परेका ८० न्यायाधीशलाई विपक्षी बनाइएको छ ।
कानुनव्यवसायीलाई उपेक्षा गर्दै एकतर्फी रुपमा सिफारिस गरिएको दाबीसमेत रिटमा छ । परिषदका कतिपय सदस्यलाई झुक्याई ‘गफलत’ मा पारी निर्णय भएको प्रश्न पनि रिटमा उठाइएको छ । उक्त विवादमा सुनुवाइका लागि सर्वोच्चले बिहीबारलाई पेशी तय गरेको छ ।
रिटमा विपक्षी बनाइएकी प्रधानन्यायाधीश कार्कीले पेशी तोक्न नमिल्ने दाबीसहित निवेदक ढुंगानाले सर्वोच्च प्रशासनमा भिन्नै निवेदनसमेत पेश गरेका छन् ।
Previous Articleनेपाल, चीन र भारतबीच त्रिपक्षीय सहकार्य-चिनियाँ विद्वत् समूह
Next Article सहकारीमा कुशल नेतृत्वको आवश्यकता