बागलुङ, ४ माघ – मकवानपुरको हेटौंडामा संचालन भएको मानव सेवा आश्रमले बागलुङमा पनि शाखा स्थापनाको पहल थालेको छ । आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीको नेतृत्वमा आएको एक टोलीले संचालन गरेको कार्यक्रममा जिल्लाका सरोकारवालाले आश्रम स्थापनाका लागि अनुमति दिएका छन् । साथै उनीहरुले आवस्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । सडकमा कुनै बालबालिका, वृद्ध तथा मानशिक रोगी समेत नदेखिने समाज निर्माणका लागि लागेको संस्थाले आगामी २०८२ सम्ममा देशभरीको लक्ष भेट्ने बताएको छ । यो अभियानको क्रममा स्थापना हुने आश्रमले अपांगता भएकोले हेलाहामा परेका, अभिभावक नभएका बालबालिका, बेबारिसे रुपमा भेटिने जोसुकैलाई उपचार, खानेबस्ने व्यवस्थापन गर्ने योजना बनाएको हो । हाल हेटौंडा, चितवन लगायतको स्थानमा संचालनमा आइसकेको आश्रम काठमाण्डौ, ललितपुर, लमजुङ, गोरखा र बीरगंजमा पनि संचालनको तयारीमा रहेको बताईएको छ । प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र राजनीतिक दल तथा कार्यालय प्रमुखहरुको सहभागितामा भएको छलफल कार्यक्रममा तत्कालै निर्माण अभियान थाल्न र सबैले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । मानवीय सेवामा लाग्ने अभियानलाई बिदेशी दातृनिकायको भने सहयोग नलिने लक्ष राखिएको छ । दानमुठीबाटै यस्ता अभियान संचालन गर्ने उनीहरुको योजना छ । सोमबार जिविसमा भएको कार्यक्रममा अधिकारीले यसअघि गरिएका क्रियाकलापको वृत्तचित्र प्रस्तुत गरेका थिए । यो अभियानलाई जिल्लामा क्रियाशिल सेभ द युथले अगुवाई गर्ने योजना बनाएको अध्यक्ष मनिष रायमाझीले बताए । यसअघि सेभ द युथले सडक बालबालिकालाइ उद्धार गरेर पढ्ने अवसर दिएको थियो । कार्यक्रममा प्रजिअ पाण्डेय, स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, काँग्रेसका सभापति दिपेन्द्रबहादुर थापा, एमाले अध्यक्ष इन्द्रलाल सापकोटा लगायत क्रियाशिल राजनीतिक दल, सामाजिक अगुवाहरु, कार्यालय प्रमुखहरुले समेत यो अभियानलाइ सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । आश्रमका टोलीले धौलागिरी अञ्चल अस्पतालमा तीन दिन सम्म प्रशिक्षण पनि संचालन गरेका थिए । उक्त प्रशिक्षणबाट प्रभावित भएकाहरुले उपचारपद्धतीमा सुधार आउने भन्दै आँफू पनि परिवर्तन भएको मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले बताए । कार्यक्रम रायमाझीको अध्यक्षता, हरि रुचालको स्वागत र पत्रकार दिल शिरिषको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleफोहोर व्यवस्थापन महसुल काउन्टर…
Next Article प्रचण्डको खानेपानीको नीजि बिल सरकारले तिरेको खुलासा