बागलुङ, ४ माघ – धौलागिरी फोहोर व्यस्थापन तथता वातावरण संरक्षण सहकारी संस्थाले २१ महिनादेखि गरेको स्वयंसेवी काम पछि महसुल काउन्टर स्थापना गरेको छ । दैनिक फोहोर संकलनका लागि काम गर्दै आएको सहकारीले न्युनतम ५० रुपैयाँदेखि ४ सय रुपैयाँसम्म फोहोरको महसुल लाग्ने गरी तोकेर काउन्टर स्थापना गरेको हो । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले काउन्टरको सोमबार उद्घाटन गरे । नगरपालिकाले उठाउने फोहोरको प्रभावकारी व्यवस्थापन नभएपछि डेढ बर्ष अघिदेखि यो सहकारीले फोहोर व्यबस्थापनमा सहयोग गर्दै आएको थियो । चालु आर्थिक बर्षदेखि भने नगरपालिकाले फोहोर उठाउने काम पुरै छाडेको छ । अहिले सहकारी मार्फत बजारको फोहोर संकलन र व्यवस्थापन भैरहेको छ । नगरपालिकाले लिने कर भन्दा न्युन शुल्कमा सहकारीले नगरबासीबाट न्युनतम शुल्क तोकेर कर संकलनको काम थालेको अध्यक्ष सुधिर श्रेष्ठले बताए । पहिलो चरणमा नगरभित्रका सबै घरधुरीलाइ कर तिर्ने बनाउने तथा त्यसका लागि आवस्यक कार्ड उपलब्ध गराउने काम सहकारीले गर्नेछ । सहकारीले घरको प्रकृति, व्यवसाय र अन्य विभिन्न प्रकारका सेवाबाट उनीहरुले उत्सर्जन गर्ने फोहोरको मात्रा हेरेर शुल्क निर्धारण गरेको हो । उक्त शुल्क तिर्न सबैलाइ सहज हुने विश्वास समेत लिइएको छ । सोमबार आयोजित काउन्टर उद्घाटन गर्दै प्रजिअ पाण्डेयले नगरबासीको सहकार्यमा गरिने कामले सरसफाइमा सहयोग पुग्ने तथा कर संकलनमा पनि सफलता मिल्ने धारणा राखे । उनले सर्बसाधारणको मन जितेर काम गर्न सहकारीका पदाधिकारीलाइ आग्रह पनि गरेका थिए । युवाहरु फोहोरमैला व्यवस्थापनमा लागेको उदाहरण नौलो भएको भन्दै उनले नगरपालिका र सबै निकायले समेत सम्मान गर्नुपर्ने धारणा राखे । जिल्लामा पर्यटन प्रवद्र्धनको काममा पनि सरसफाईले सहयोग पुग्ने उनले बताए । ‘पर्यटक भित्राउने काममा यो अभियानले सहयोग पुग्छ’ पाण्डेयले भने, ‘धेरै दिनदेखि थुप्रिने फोहोरले रोग बढाउने भएकोले नगरबासिले पनि सहयोग गर्नुपर्छ ।’ स्वच्छ नगर बनाउने अभियानमा नगरपालिकाले अग्रणी भूमिका खेल्नुपर्ने उनले बताए । कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले फोहोरबाट मोहोर कमाउने लक्ष राखेर अगाडि बढ्न सुझाव दिए । कुहिने र नकुहिने फोहोर उठाएर सरसफाइमा जोड दिनसकेमा आम्दानी र युवा रोजगारी बढाउन सकिने समेत उनले बताए । फोहोरलाइ कमाउने माध्यम बनाउन सकिने अवस्था आएमा पर्वत र म्याग्दीमा उर्सजन हुने फोहोरपनि बागलुङमै संकलन गर्ने व्यवस्था मिलाउन सकिने उनले बताए । सहकारीले ४ कोठा सम्मको घर, साना व्यवसाय, पान पसल र ठेला पसल संचालन गरेर बसेकाहरुलाइ मासिक ५० रुपैयाँ शुल्क लिने व्यवस्था गरेको छ । त्यस्तै ४ कोठादेखि ८ कोठा सम्मको घर, चिया पसल, सानो कस्मेटिक, भाँडा पसल, सुनचाँदी पसल, र सरकारी तथा गैरसरकारी संस्थालाइ मासिक १ सय रुपैयाँ शुल्क तोकिएको छ । ८ कोठा भन्दा ठूलो घर, साना प्रकारका होटल, फेन्सी कपडा पसल, औषधि तथा अस्पालको सामाग्री पसल, खाद्यान्न किराना, बैक तथा वित्तिय कार्यालय, तालिम केन्द्र, रक्सी डिलर, सोरुम, जुत्ता पसल, हेयर कटिङ शैलुन, पार्लर र ट्रान्सपोर्ट जस्ता पसललाइ मासिक १ सय ५० रुपैयाँ लिने व्यवस्था छ । मासु विक्रि केन्द्र, ठूलो प्रकारको रेष्टुरेन्ट, हार्डवेयर पसल, गाडि शोरुम तथा मेसिनरी पसल, मिठाई पसल, क्लिनिक र औषधि पसल, कलरल्याव, सामुदायिक तथा निजी विद्यालय, फर्निचर र मझौला होटललाइ मासिक २ सय रुपैयाँ तोकिएको छ । सहकारीले ठूलो फेन्सी तथा स्पोर्ट पसल, खाद्यान्न होलसेल, गोदाम, ग्रील उद्योग र मेटल वक्स, गाडि तथा मोटरसाइकल वर्कसप, मर्मत केन्दै र छापाखानालाइ मासिक ३ सय रुपैयाँको दरले शुल्क निर्धारण गरेका छ । भने ठूलो प्रकारका होटल, फलफूल तथा तरकारीको होलसेल, मासु काट्ने तथा कटान सहितको पसल र होस्टेललाइ मासिक ४ सय रुपैयाँ शुल्क निर्धारण गरिएको हो । अहिले सम्म ४ सय शुल्क तिर्ने २९ वटा संस्था छनौट गरिएको अध्यक्ष श्रेष्ठले बताए । ३ सय रुपैयाँ तिर्नेमा ९१ वटा संस्था, २ सय तिर्ने १ सय ५० घर तथा संस्था, त्यस्तै १ सय ५० तिर्ने २ सय ५० घर तथा संस्था रहेको अनुमान गरिएको छ । १ सय रुपैयाँ तिर्नुपर्ने प्रावधानमा ४ सय ५० घर र ५० रुपैयाँ तिर्नुपर्ने प्रावधानमा १ हजार ५ सय ५० बढी घर रहेको अनुमान छ । यो प्रावधानमा सबैलाइ सहुलियत दरमा शुल्क राखिएकोले सबैले तिर्ने अपेक्षा पनि गरिएको छ ।