बागलुङ, ४ माघ – जिल्लामा पहिलोपटक युवा लक्षित कार्यक्रम सहितको सरकारी कार्यालय स्थापना भएको छ । युवा तथा खेलकुँद मन्त्रालय तथा राष्ट्रिय युवा परिषदको मातहतमा रहने गरी बागलुङमा जिल्ला युवा समितिको कार्यालय स्थापना भएको हो । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले सोमबार उक्त कार्यालयको शुभारम्भ गरेका छन् । उप–सचिव तहको कार्यालय प्रमुख रहने गरी स्थापित यो कार्यालयको लागि तत्कालका लागि सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय प्रमुख रहने व्यवस्था गरिएको छ । युवाका आधारभूत अधिकारको प्रत्याभूति गराउने, युवा सशक्तिकरणका माध्यमबाट समाथ्र्यवान र उद्यमशिल सिर्जनशिल तथा बैज्ञानिक युवा तयार गर्ने, राष्ट्रको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अर्थपूर्ण योगदान दिन सक्ने गरी युवालाइ नेतृत्वदायी भूमिकामा ल्याउनका लागि समितिको परिकल्पना गरेर जिल्ला तहमा पनि कार्यालय ल्याइएको उपाध्यायले बताए । यो कार्यालयले पहिलो चरणमा जिल्लाका १ सय युवाको समूह बनाएर उनीहरुलाइ स्वयंसेवी अभियानमा लगाउने, विभिन्न तालिममा सहभागि गराउने तथा आत्मनिर्भर बन्न सक्ने वातावरण तयार गर्ने गरी मन्त्रालयबाट निर्देशन आएको उपाध्यायले जानकारी दिए । कार्यक्रमको हिसावले भने एक निर्वाचन क्षेत्रमा १० जनाका दरले ३० जना युवालाइ चालु बर्षभित्रै समूहको रुपमा गठन भएर कृषि, व्यवसाय लगायतका कुनैपनि उद्यम संचालन गर्न चाहेमा ऋण तथा प्राविधिक सहयोग गर्ने गरी काम गर्ने तयारी गरिनेछ । १६ देखि ४० बर्षका युवाहरु खाडी मुलुकमा रोजगारीका लागि धाएको तथ्यांक सार्वजनिक गर्दै उपाध्यायले १६ देखि २४ बर्षको एक समूह र २५ देखि ४० को अर्को समूह बनाएर स्वरोजगारका लागि अभियान संचालन गर्नका लागि पनि समितिको कार्यालयले काम गर्ने बताइएको छ । चालु बर्षका लागि भने पूजिगत र साधारण गरी २२ लाख १२ हजार बजेट विनियोजन भएको उनले जानकारी गराएका थिए । उक्त अवसरमा प्रजिअ पाण्डेयले जिल्लामा कार्यालय थपिनु सुखद भएपनि थपिएको कार्यालयले युवाहरुमा राहतको अवसर दिन सक्नुपर्ने धारणा राखे । साथै उनले नागरिक शिक्षा अभियान पनि संचालन गर्न आग्रह गरे । उपाध्यायको अध्यक्षता, जिल्ला शिक्षाका शाखा अधिकृत लोकनाथ आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा उपाध्यायले चालुबर्षको कार्यक्रम प्रस्तुतीकरण गरेका थिए ।