यतिवेला मुलकबाट राजतन्त्र विदा भएको ९ वर्ष भइसक्यो। यो बीचमा देशले दुई राष्ट्रपति पाइसक्यो। राष्ट्रपति र पूर्वराजाको निवासको दूरी केवल एक किलोमिटर पनि छैन। तर नेपालका पूर्व राज्यप्रमुख ज्ञानेन्द्र शाह र वर्तमान राज्य प्रमुख राष्ट्रपति विद्या भण्डारीबीच भेटको संयोग जुर्न सकेको थिएन। तर राष्ट्रको नेतृत्वदायी भूमिका निर्वाह भईरहेको राष्ट्रपति भवन शीतल निवासमा सोमबार एउटा दुर्लभ संयोग जुर्यो। राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम र पूर्वराष्ट्रपति रामवरण यादवका नाती तथा कांग्रेस नेतृ किरण यादवका छोरा अभिषेकको विवाहले पूर्व राजा र राष्ट्रपतिबीच राष्ट्रपति भवनमा भेट्ने दुर्लभ संयोग जुराएको हो। राजतन्त्रको विदाइपछि पूर्व राजा शाहले पहिलो पटक शीतल निवासमा पाइला मात्रै राखेनन्, उनले आफ्नो गद्दीच्युतसँगै स्थापना भएको गणतन्त्र नेपालको राज्य संरचनालाई पहिलो पटक आफै सहभागी भएर मान्यता पनि दिए।
मुलुकभित्र राष्ट्रवादको कुरा गहिरो वन्दै गइरहेको अवस्थामा प्रगतिशील राष्ट्रवादलाई स्थापित गर्न धेरै पक्ष क्रियाशिल भइरहेको वेला नयाँ संविधान र संरचनालाई पूर्व राजाले मान्यता दिनु विशेष महत्वको विषय नै हो । ज्ञानेन्द्रको शितल निवासमा भएको पाईला स्वभाविक भए पनि यो संयोगको विषेश अर्थ रहनेछ । अर्को संयोग के भने त्यहाँ पूर्व राष्ट्रपति रामवरण यादव पनि थिए। र देशका प्राय हाइप्रोफाइलका ब्यक्तिहरु बर बधुलाई शुभकामना दिन शीतल निवास पुगेका थिए। यति मात्रै होइन पूर्व राजा ज्ञानेन्द्रले शीतल निवाससँग जीवनको महत्वपूर्ण पक्ष पनि जोडिएको स्मरणलाई त्यहाँ सवैका सामु वाँडे। उनको विवाहको स्मरणलाई सार्वजानिक हुनुले पनि छुट्टै महत्व राख्ने नै छ । इतिहास हेर्दा राणा प्रधानमन्त्री चन्द्र सम्शेरले बेलायती शैलीमा निर्माण गरेको यो दरवारमा २०२७ सालमा ज्ञानेन्द्र शाह र कोमलबीच विवाह भएको थियो। उनको मात्र होइन राजतन्त्रको समयमा राजपरिवारका सदस्यहरुको शीतल निवासमै वैवाहिक समारोह आयोजना हुने गर्थे ।
विशिष्ट विदेशी पाहुनाहरुलाई राख्नको लागि प्रयोग गरिने शीतल निवासमा केही समय परराष्ट्र मन्त्रालय पनि बस्यो। तर गणतन्त्र स्थानापछि यो भवनमा राष्ट्रपति कार्यालय र निवास दुवै रहँदै आएको छ। पूर्व राष्ट्राध्यक्षको हैसियतमा निम्ता पाएका शाहलाई राष्ट्रपति भण्डारीले शीतल निवासमा स्वागत गरेकी थिइन्। राष्ट्रपतिले नमस्कारसहित शाहलाई स्वागत गरे लगतै उनले बर बधु भएको ठाउँमा पुगेर पुष्प गुच्छा दिँदै सुखद् बैवाहिक जीवनको शुभकामना दिए। शुभकामना दिए लगत्तै बाहिरिएका उनी आगन्तुक बसेको टेवलतर्फ लागेका थिए। राप्रपा अध्यक्ष कमल थापा, पशुपति सम्शेर राणा, लोकेन्द्र बहादुर चन्द, पूर्व प्रधानसेनापति प्यारजंग थापा बसिरहेको टेबलमा उनी पुगेका थिए। टेवलमा कुराकानी गर्दै पूर्व राजाले कालो चिया पिए। निकै प्रफुल्ल मुद्रामा देखिएका उनले त्यहाँ ठड्उली समेत गरे। यसले पनि पूर्व राजाको सामाजिकरणको विषय महत्वपूर्ण बन्यो । पूर्व राजा खासमा शितल निवासमा वरवधुलाई शुभकामना दिन पुगे पनि उनले मुलुकको पछिल्लो परिवर्तनलाई आत्मसात गरेको विषय महत्वपूर्ण हो । यसले कसैलाई पनि निशेष गरेर हुदैन भन्ने राम्रो सन्देश राजनीतिक पार्टीका नेताहरुले लिन सक्नु पर्दछ ।