बागलुङ, ४ माघ – शनिबारदेखि बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा जारी बागलुङ गोल्डकप फुटबल–२०७३ को समुह चरणका खेलहरु सोमबार सम्पन्न भएका छन् । दलित युवा सञ्जाल बागलुङको आयोजनामा सुरुभएको प्रतियोगितामा सोमबार अमर आदर्श स्पोटर्श क्लब र दलित सामुदायिक स्रोत विकास केन्द्र बागलुङ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अमर आदर्श स्पोटर्श क्लबले चिल्ड्रेन लाईफ स्पोटर्स क्लबलाई ५–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा १ गोलमात्र गरेको अमरले दोस्रो हापमा थप ४ गोल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमर आदर्शको जितको लागि खेलको दोस्रो मिनेटमै सुरज नगरकोटीले गोल गरेका थिए । पहिलो हापमा दुवै तर्फबाट केही राम्रो मौका प्राप्त गरेतापनि गोल गर्नभने सकेनन् । अमर आदर्शका सुरज नगरकोटीले खेलको दोस्रो हापमा पुनः गोल गर्दै आफ्नो तथा टोलीको लागि दोस्रो गोल गरेका थिए । उनले खेलको ५३ मिनेटमा गोल गरेका थिए । यस्तै अमरको जितको लागि सन्नी राना मगर, अनिल केसी र आशिष श्रेष्ठले १–१ गोल गरेका थिए । यस्तै सोमबारनै भएको दोस्रो खेलमा युवा सञ्जाल नारायणस्थानलाई १–४ गोल अन्तरले पराजित गर्दै दलित सामुदायिक स्रोत विकास केन्द्र क्वाटरफाइनलमा प्रवेश गरेको छ । दलित सामुदायिक स्रोत विकास केन्द्रको लागि खेलको १६ मिनेटमा आशिष गुरुङले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक भएको पहिलो हापमा दुवै टोलीले गोलका राम्रो अवसरहरु सदुपयोग गर्न सकेनन् । दोस्रो हापको सुरुवातमै युवा सञ्जाल नारायणस्थानका आशिष खड्काले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । उक्त बराबरी धेरै समय भने टिक्न सकेनन् । सामुदायिक स्रोत विकास केन्द्रका पूर्ण बहादुर गुरुङले ५५ मिनेटका गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सामुदायिक स्रोत विकास केन्द्रको जितको लागि सुनील गौचन र मिन बहादुर गुरुङले १–१ गोल गरेका थिए । प्रतियोगितामा मंगलबार पहिलो क्वाटरफाइनलको खेल विष्णु पादुका युवा क्लव विरुद्ध विर गोर्खाली युवा क्लब र दोस्रो खेल चिल्ड्रेन लाईफ स्पोटर्श क्लब ए विरुद्ध फ्युचर स्पोटर्श क्लब वि विच हुने प्रतियोगिताका प्रेस संयोजक रामकृष्ण बोहोराले जानकारी दिए । शनिबारदेखि शुरु भएको प्रतियोगिता बागलुङ, पर्वत, म्याग्दी सहित कास्कीबाट समेत गरी १३ समूहले सहभागिता जनाएका छन् । गोल्ड कप फुटबल प्रतियोगितामा उपाधि बिजेता र उपबिजेता समूहले क्रमशः नगद १ लाख र ५० हजार प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरस्कार १० हजार, हाइ स्कोर १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, फरवार्ड, गोल रक्षक, अनुशासित टिम, प्रशिक्षकलाई ५÷५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Previous Articleतिब्बतमा नयाँ सरकार प्रमुख
Next Article यी गल्तीले हुन सक्छ अनिच्छित गर्भवती