काठमाडौँ, ३ माघ – नेपालसँग सिमा जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्र सरकार प्रमुखमा छि चाला चयन भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी ल्हासा कमिटिका पूर्व प्रमुख चाला तिब्बत क्षेत्र सरकार प्रमुखमा नियुक्त भएको आइतबार सार्वजनिक गरिएको हो। तिब्बत क्षेत्रको पीपुल्स कँग्रेसको पाँचौँ अधिवेशनले शनिबार उनलाई सरकार प्रमुखमा नियुक्त गरेको हो। नयाँ सरकार प्रमुख चालालाई निवर्तमान प्रमुख लियोसाङ जियाङसुनले खादा लगाएर बधाई दिएका छन्।
निवर्तमान सरकार प्रमुख लियोसाङ शनिबार नै पीपुल्स कँग्रेस तिब्बतको अध्यक्ष चयन भएको चाइना डेलीले जनाएको छ। उनलाई निवर्तमान अध्यक्ष पद्म छोलिङले बधाई दिएका थिए। चीनको स्वशासित क्षेत्र तिब्बतमा पार्टी प्रमुखपछि मर्यादा क्रममा सरकार प्रमुख र पीपुल्स कँग्रेसका अध्यक्ष रहने व्यवस्था छ।
पाँच महिनाअघि वु यिङजेइ चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत प्रमुखमा नियुक्त भएका थिए।चीनमा नेपालको सिमाना तिब्बतसँग मात्र जोडिएको छ र पछिल्लो समय बेइजिङले तिब्बत, सिचुवान, युनान जस्ता क्षेत्रीय सरकारसँग सहकार्य बढाउन नेपाललाई सुझाव दिँदै आएको छ।नयाँ सरकार प्रमुख चाला (बायाँ)
केन्द्र सरकारको सुझाव अनुसार तिब्बत क्षेत्र तथा सिचुवान र युनान प्रान्तीय सरकारले नेपालसँग सम्बन्ध विस्तार गर्ने प्रयास गरिरहेका छन्। करिब दुई वर्षअघि तिब्बत सरकार प्रमुख लियोसाङ जियाङसुन नेपाल भ्रमणमा आएका थिए। युनानको सांग्रिलामा जन्मेका ५९ वर्षीय क्वी झाला तिब्बती जातिका हुन्। तिब्बत जानुअघि उनले ३१ वर्षसम्म युनानका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए। उनी ल्हासा जानुअघि युनानको डिक्वीङ तिब्बती स्वायत्त क्षेत्रको सरकार प्रमुख थिए।
तिब्बत सरकार प्रमुखमा चयन भएपछि क्वीले राष्ट्रपति सी जिनपिङ र चीनको केन्द्रिय सरकारले तिब्बतको सुधार र विकासमा ठूलो अपेक्षा राखेको बताएका छन्। चालाले भने, ‘मैले ठूलो जिम्मेवारी र कठिन कामको सामना गर्नुपर्छ, म अध्ययन र कडा मेहनत गर्नेछु।’
Previous Articleयस्तो देखियो तस्विरमा राष्ट्रपतिकी छोरीको विवाह
Next Article अमर आदर्श र रामरेखा विजयी