विक्रम सुनार
बागलुङ, ३ माघ – जिल्लाको मालिका–२ बान्द्रेमा व्यवसायिक खेतीका लागि सिञ्चाईको समस्या भएको छ । स्थानीयले आफ्नो प्रयोगका साथै व्यवसायिक तरकारी खेती गर्न थाले पनि सिञ्चाई समस्या भएको स्थानीय कृषक होमनाथ सापकोटाले बताए । उत्पादन राम्रो हुने गरेता पनि तरकारी खेतीलाई व्यवसायिक रुपमा सञ्चालन गर्न कठिन भएको सापकोटाको भनाई छ । विक्रम सम्वत २०५१ सालमा सामान्य लगानी गरि सुरु गरेको व्यवसायिक खेतीबाट अहिले बार्षिक ५ लाख आम्दानी हुने गरेको उनले बताए । ‘अहिले तरकारी खेती राम्रो रहेको छ यसलाई अझ व्यवसायिक र उत्पादन गर्न सिचाईको सुविधा भएमा राम्रो हुने थियो’ कृषक सापकोटाले भने । सापकोटाले काउली, गोलभेडाँ, आलु लगायतका कृषिजन्य वस्तुहरु उत्पादन गरि बागलुङ बजारमा विक्री गर्दै आएका छन् । राम्रै हिसावले खेती गर्ने सोच छ, तर अहिले सिञ्चाई समस्याले पिरोलिरहेको सापकोटाले बताए । ७ सदस्य रहेका सापकोटा परिवारले एक आपसमा सहयोग गरेको साथै ३ वटा भैसीपालन गरि दुध पनि विक्री गर्ने गर्दै आएका छन् । तरकारी खेती तथा दुध विक्रीबाट आम्दानी राम्रो भएकाले आफ्नो घर–परिवार, छोरा–छोरीलाई पढाउने, घरायसी खर्च कटौटी गरि नियमित बचत समेत गर्दै आएका छन् । राज्यले युवा लक्षित कृषि सम्वन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम संचालन गरेमा देश बढ्दो यूवा प्लायनलाई रोकी स्वदेश मै रमाउन सकिने सापकोटाले बताए ।
‘कृषि कार्यालय लगायतका सम्वन्धित सघं संस्थाले प्लाष्टिक पोखरीका लागि सामग्री उपलब्ध गराइदिए व्यवसायीक तरकारी खेती गर्नलाई थप उत्साह मिल्ने सापकोटाको भनाई रहेको छ । जिल्ला कृषि विकास कार्यलयले कृषि अनुदानका साथै सिञ्चाईका लागि आवश्यक सहयोग गरे तरकारी खेतीबाटै मनग्य आम्दानी गर्न सकिने बाबु सापकोटाले बताए ।