विदेशमा रहेका ५० लाख नेपालीको नोट चल्छ, भोट किन चल्दैन भन्ने कुरा गतसाता नेपाली सञ्चार माध्यममा वहसको विषय बन्यो । यसले विदेशमा रहेका नेपालीको संख्या र उनीहरुको मताधिकारको बारेमा कुरा उठायो । प्रत्येक दश वर्षमा गरिने जनगणनामा पछिल्लो छ महिना लगातार गएल रहेको व्यक्तिलाई गणना गरी नेपाल बाहिर रहने वा नेपालमा भन्ने तथ्याङ निकालिन्छ। जनगणनाले परिभाषित गरे अनुसार विदेशमा बस्ने नेपालीलाई आप्रवासी जनगणनाको समय नेपालमा नरहेको व्यक्ति भन्ने जनाउँछ। पछिल्लो जनगणना अनुसार करिब १९ लाख नेपाली विभिन्न उद्देश्यका लागि देश बाहिर रहेका छन्। १९ लाखभित्र भारतमा रहेका प्रवासी नेपाली पनि पर्छन्।
नेपालको कुल जनसंख्याको ५७ प्रतिशत मानिस काम गर्न सक्ने अर्थात् १५ देखि ६० वर्षका छन्। यो अहिले सम्मकै जनसंख्याको अधिकतम अनुपात हो। नेपालको श्रम बजारमा वर्षेनी करिब ४ लाख ५० हजार मानिस प्रवेश गर्छन्। ती युवामध्ये कतिले नेपाली बजारमा रोजगारी प्राप्त गरे भन्ने कुनै तथ्याङ छैन। उद्योग दर्ताको संख्या भन्न त सकिएला तर ती उद्योगले कति जनालाई कस्तो प्रकृतिको रोजगार प्रदान गर्छन् भन्ने आँकडा छैन। अहिलेसम्म नेपालमा उद्योगहरुलाई चाहिने श्रम शक्ति कस्तो हुनुपर्छ र कति आवश्यक छ भन्ने एउटै अध्ययन भएको छैन। तरपनि हामी बारम्बार सुन्ने गर्छौं, विदेशिएका सबै नेपालीलाई हामी रोजगारी दिन्छौं।
देश बाहिर नेपाली कति छन् भन्ने स्पष्ट आँकडा कसैसँग छैन। वैदेशिक रोजगारीमा जानेले केहि प्रक्रिया पु¥याउनु पर्ने हुनाले, प्रक्रिया पुरा गरेर जानेको मात्र आँकडा थाहा पाउन सकिन्छ। त्यो पनि भारत बाहेक अन्य देश जानेको मात्र। त्यसैले बारम्बार पत्र–पत्रिकामा आउने, दैनिक १५ सय जना विदेशिन बाध्य छन भन्ने समाचारको तथ्याङमा भर पर्नु पर्ने स्थिति छ। १५सय भित्र नयाँ कति हुन् र पुराना कति भन्ने तथ्याङ छैन। यसबाहेक देशभित्रको प्रक्रिया पुरा नगरी अन्य देश मार्फत् विदेशिनेको संख्या कति हो कसैलाई थाहा छैन। नेपाल हुँदै रोजगरी बाहेक अन्य उद्देश्यका लागि विदेश जाने र गन्तव्य मुलुकमा पुगेपछि रोजगरीमा लाग्नेको संख्या पनि यकिन छैन। अझ भारतका लागि त कुनै पनि प्रक्रिया पुरा गर्न नपर्ने भएकाले दैनिक कति जान्छन् भन्ने रेकर्ड राख्ने संयन्त्र नै छैन।
देश बाहिर रहेका ५० लाख नेपालीहरुले भोट दिन पाउने कि नपाउने भन्ने कुरालाई मान्ने भने त्यो संख्या गत संविधानसभाको चुनावमा नेपाली कांग्रेस, एमाले र माओवादीले पाएको सम्पूर्ण मतमा थोरै मात्र कम हो। यसको अर्थ नेपाललाई सिंगो एउटा निर्वाचन क्षेत्र मान्ने हो भने अर्को करिब बराबर संख्या भएको निर्वाचन क्षेत्र त देश बाहिर रहेछ। तर यी सबै तथ्याङ होइनन् मिथ्याङ हुन्। पहिलो कुरा, नेपाल बाहिर रहेका सम्पूर्ण नेपालीको तथ्यगत आँकडा हामीसँग छैन, दोस्रो उनीहरुको वैधानिक स्थिति नै स्पष्ट छैन। यस्ता मिथ्याङहरु केबल राजनीतिक भाषणका लागि मात्र प्रयोग गरिन्छन्। विस्तृत अध्ययन अनुसन्धान बिना आएका यस्ता खाले तथ्याङलाई बेन्जामिन डिजरायलीले भनेजस्तो सबैभन्दा डरलाग्दो झुट भन्नु पर्ने हुन्छ । क्षणिक लाभका लागि अरुलाई प्रयोग गर्ने अथवा आफू प्रयोग हुन उपयोग गरिने यस्ता मिथ्याङबाट सबैजना सजक हुनु पर्दछ र राज्यको ध्यान चाहिँ सही र उपयोगी तथ्याङ संकलनमा जानुपर्छ।