बागलुङ, ३ माघ – १९ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस आइतबार बागलुङमा बिबिध कार्यक्रम सहित मनाइएको छ । भुकम्प प्रतिरोधी सामाग्री प्रदशनी सहित बागलुङको समिक्षालय चोकबाट सुरु गरिएको प्रभातफेरी लोकतान्त्रिक चोक हुँदै पुरानो जिविस चोकमा पुगेर सकिएको थियो । “भुकम्प सुरक्षाको बलियो आधार, भुँइचालो थग्ने घर र भौतिक पूर्वधार” भन्ने मुल नाराका साथ भुकम्प सुरक्षा दिवस जिल्ला समारोह समिति बागलुङको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले भुकम्प कहिले कसरी आउछ भन्ने कुनै हेक्का नभएकाले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए । भौतिक संरचना निर्माण गर्दा भुकम्पबाट सुरक्षित हुनका लागि भवन आचार संहिताको पालना गरि प्राविधिकहरु संग सल्लाह लिएर मात्र निर्माण गर्न आग्रह गरे । दिवसका अवसरमा जिल्लामा क्रियाशिल राजनैतिक दलहरुको तर्फबाट नेपाली कांग्रेस जिल्ला कार्य समिति बागलुङका सचिव नवराज पौडेल, शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख प्रकाश अर्याल लगायतले बोलेका थिए । कार्यक्रम बागलुङ नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीको स्वागत र सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यलयका बद्रि गौतमको संचालनमा सम्पन्न भएको थियो । वि.स १९९० साल माघ २ गते आएकोे विनाशकारी भुकम्पबाट क्षति भएका जनधनको सम्झना गदै यसबाट बच्न तथा सावधानी अपनाउन प्रत्येक वर्ष माघ २ गतेलाई राष्ट्रिय भुकम्प सुरक्षा दिवसको रुपमा मनाइदै आइएको छ । उता, म्याग्दीको बेनी नगरपालिका–१० तोरीपानीमा गलेश्वर उच्च माध्यमिक विद्यालयमा आइतबार भूकम्प सुरक्षा दिवस मनाइएको छ । दिवसको अवसर पारेर विद्यालयद्वारा बिद्यार्थीहरुबीच बक्तृत्वकला प्रतियोगिता आयोजना गरी दिवस मनाएको हो । प्रतियोगितामा विद्यालयको प्राविधिक र साधारण धारतर्फ अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । भूकम्प सुरक्षा सम्बन्धी विषयमा भएको बक्तृत्वकला प्रतियोगिताबाट प्राविधिक धारतर्फको पहिलो व्याजका सन्ध्या रेग्मी प्रथम, तोयानाथ शर्मा द्वितीय र साधारण तर्फका अन्जना खत्री तृतीय भएको गलेश्वर उच्च माविका शिक्षक एवं प्रवक्ता चन्द्रबहादुर लामिछानेले बताए ।