बागलुङ, २ माघ – जिल्लाकै सर्वाधिक पुरस्कार राशीको बागलुङ गोल्ड कप फुटबल–२०७३ शनिबारदेखि बागलुङको बाङ्गेचौर खेल मैदानमा सुरु भएको छ । दलित युवा सञ्जाल बागलुङको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा विष्णु पादुका क्लब हेम्जा कास्कीले खनियाँघाट युवा क्बललाई ५–० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिताको दाबेदारको रुपमा रहेको विष्णु पादुका युवा क्लवले खनियाँघाट युवा क्लबलाई निकै दबाबमा राखेको थियो । खेल सुरु भएको दोस्रो मिनेटमा अशोक नेपालीको गोलबाट अग्रता लिएको विष्णुपादुकाले पहिलो हाफमा गोलको धेरै अवसरहरु खनियाँ घाटका गोलकिपरले विफल बनाएका थिए । विष्णुपादुकाका विश्व गुरुङले खेलको ४० मिनेटमा दोस्रो गोल गरेका थिए । पहिलो हाफमा २ गोलमात्र गरेको विष्णुपादुकाले दोस्रो हाफमा पनि खेल आफ्नो पक्षमा राख्दै ३ गोल गरेको थियो । खेलको ४५ मिनेटमा विश्व गुरुङले दोस्रो तथा टिमको लागि तेस्रो गोल गरेका थिएभने समिर कार्कीले ५२ मिनेटमा गोल गरेका थिए । यस्तै उत्सव थापाले ५५ मिनेटमा गोल गरेपछि विष्णुपादुका पहिलो खेल सहज रुपमा जितेको छ । खेलको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले गरेका थिए । उद्घाटनपछि बोल्दै अध्यक्ष परियारले जिल्लाको खेल क्षेत्रमा लगानी गर्न सबैलाई गरेका थिए । उनले जिल्लाका सांसदहरुले सांसद विकास कोषबाट अन्य क्षेत्रमा बजेट छुटाएको बताउँदै खेल क्षेत्रलाई कुनै बजेट नछुटाएकोमा आक्रोस पोखेका थिए । उनले खेलकुदले शारिरिक मात्र नभई सामाजिक विकासमा समेत टेवा पु¥याउने बताए । जिल्लामा राम्रा खेलाडीहरु उत्पादन गर्नको लागि जिल्लाका नेता तथा सबै निकायबाट खेल क्षेत्रमा लगानी गरिनुपर्ने परियारले बताए । फुटबलको क्षेत्रमा दलित युवा संजालले देखाएको सक्रियताको प्रशंसा गर्दै संजालसंग सबैले हातेमालो गरी फुटबल प्रतियोगितालाई निरन्तरता दिन समेत परियारले आग्रह गरेका थिए । उक्त अवसरमा नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा र गायक तथा मोडल लक्ष्मण श्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिएभने खेल संचालनको बारेमा दलित युवा संजालका सचिव राहुल बोहराले प्रकाश पारेका थिए । दलित युवा संजाल बागलुङका अध्यक्ष राजकुमार बोसेलको अध्यक्षतामा सम्पन्न भएको उद्घाटसत्रको स्वागत सहसचिव हरि रुचाल र संचालन प्रेस संयोजक रामकृष्ण बोहराले गरेका थिए । शनिबारदेखि शुरु भएको प्रतियोगिता बागलुङ र समेत गरी १३ समूहले सहभागिता जनाएका छन् । गोल्ड कप फुटबल प्रतियोगितामा उपाधि बिजेता र उपबिजेता समूहले क्रमशः नगद १ लाख र ५० हजार प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरस्कार १० हजार, हाईस्कोर १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, फरवार्ड, गोल रक्षक, अनुशासित टिम, प्रशिक्षकलाई ५÷५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । आईतबार जुम्ली निर्माण सेवा र वीर गोर्खाली तथा फ्युचर ब्राईटर स्पोर्ट क्लब र नयाँ शक्ति विद्यार्थी युनियनबीच खेल हुने आयोजकले जनाएको छ ।
Previous Article‘अवैध कारोबारले अर्थतन्त्रमा असर’
Next Article बादल बिनाको राजधानीमा चिसो वढ्दै