काठमाडौँ, २ माघ – केही दिनयता राजधानीमा चिसो बढेको छ। शनिबार राजधानीको न्युनतम तापक्रम यो वर्षको अहिलेसम्मको न्युन विन्दुमा पुग्यो। शनिबार ०.४ डिग्री पुगेको राजधानीको न्युनतम तापक्रम आइतबार ०.१ डिग्री बढेको छ। उच्चतम तापक्रम पनि शनिबारकोभन्दा आइतबार बढेको छ। शनिबार राजधानीको उच्चतम तापक्रम १६ डिग्री थियो भने आइतबार १७ डिग्री पुगेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले राजधानीमा अझैं हप्तादिन जति न्युनतम तापक्रम ०–१ डिग्रीको बीचमा रहने अनुमान गरेको छ। महाशाखाका बरिष्ठ मौसमविद् बरूण पौडेलले काठमाडौंको आकाशमा बादल नभएकाले तापक्रम ओह्रालो लागेको बताए। ‘काठमाडौंको आकाशमा केही दिन यता बादल छैन, बादल नभएपछि हिमालतिरको चिसो बोकेको हावा राजधानी आएकाले चिसो बढेको हो’, पौडेलले भने, ‘आज अलिकति बादल लाग्लाजस्तो देखिए पनि धेरै बादल नलाग्ने भएकाले केही दिन न्यूनतम तापक्रम यही औसतमा रहन्छ।’
आइतबार देशका पश्चिमी भेगमा बादल देखिएकाले ती क्षेत्रमा तापक्रम धेरै नघट्ने पौडेलले बताए। उनका अनुसार चिसो बोकेको पश्चिमी वायु र हिमालतिरबाट आउने हावालाई बादलले छेक्दा राम्ररी बहन पाउँदैन। त्यसो हुँदा राति तापक्रम धेरै घट्दैन। रात लामो हुने र हावा चल्ने भएपछि दिउँसो बढेको तापक्रम पनि राति स्वाट्टै घट्छ। बिहानै घाम लागे पनि राति घटेको तापक्रम बढ्न समय लाग्ने भएकाले अचेल बिहान चिसो हुने पौडेलले बताए।
गत वर्ष डिसेम्बर २३ तारेखमै शून्यमा झरेको राजधानीको तापक्रम यो वर्ष तीन हप्ता ढिला जनवरी १४ मा ०.४ डिग्री पुगेको हो। जनवरी १० मा राजधानीको न्युनतम तापक्रम ३.५ डिग्री थियो। चार दिन लगातार घटेको तापक्रम जनवरी १४ मा ०.४ डिग्री पुगेको हो। डिसेम्बर, जनवरी र फेब्रुवरी महिनामा नेपालमा धेरै चिसो हुन्छ। त्यसमा पनि डिसेम्बर १५देखि जनवरी १५ सम्म धेरै नै जाडो हुन्छ। ‘तर यो वर्ष गत वर्षभन्दा तीन हप्तापछि राजधानीको तापक्रम शून्यतिर आएको छ’, पौडेलले भने, ‘अझै एकहप्ता यही औसतमा तापक्रम हुन्छ, त्यसपछि बढ्न थाल्छ।’
तर मौसममा अकस्मात नयाँ सिस्टम बन्यो भने त्यसपछि पनि काठमाडौंको तापक्रम घट्न सक्ने उनले बताए। ‘हामीले सामान्यतः माघ १५ पछि तापक्रम बढ्छ भन्छौं तर, २०६३ साल फागुन २ गते काठमाडौंमा हिउँ परेको थियो’, पौडेलले भने ‘अकस्मात नयाँ सिस्टम बन्दा त्यस्तो हुनसक्छ।’
Previous Articleबागलुङ गोल्ड कप शुरु
Next Article राष्ट्रपतिकी छोरीको विवाहमा ५१ जना जन्ती