बागलुङ, २९ पौष – नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रेम शर्माले उद्योग व्यवसायको वृद्धि गरी देशको आर्थिक विकास गर्नका लागि राज्यका नीति नियम व्यवसाय मैत्री हुनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले निकट उद्योग व्यवसायीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको बिहिबार बागलुङमा आयोजित प्रथम जिल्ला भेलामा बोल्दै उनले यस्तो बनाएका हुन् । उद्योग व्यवसाय गर्न चाहने युवालाई राज्यको नीति नियमले थुप्रै झण्झट दिने अवस्था भएकाले युवाहरु स्वदेशमा व्यवसाय गर्न छोडेर विदेश लाग्ने गरेको उनले आरोप लगाए । उद्योगी व्यवसायीलाई निर्धक्क काम गर्ने वातावरण नबन्दासम्म यो क्षेत्रमा लाग्नेहरुको संख्या नबढ्ने भएकाले राज्यका नीति नियमहरुलाई व्यवसाय मैत्री बनाउनु पर्नेमा उनको जोड थियो । कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मना केसीले एमाले नेतृत्वको सरकारले उद्योगी व्यवसायीलाई उत्साहित गराउने खालका नीति तथा कार्यक्रम ल्याएकाले सत्ताबाट बाहिरिन परेको बताइन् । कार्यक्रममा एमाले वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली, अखिल नेपाल किसान महासंघका स्थायी कमिटि सदस्य मोहनलाल शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठकको अध्यक्षता, सचिव लालबहादुर थापाको सञ्चालन र राष्ट्रिय वाणिज्य संघ बागलुङका अध्यक्ष पुनम शर्माको स्वागतमा सम्पन्न भएको थियो । भेलाले नेपाल उद्योग तथा व्यवसायी महासंघमा आवद्ध ८ मध्ये बागलुङयस्मा क्रियाशिल विभिन्न ७ वटा घटक संगठनका संयोजकहरु चयन गरेको छ । जसअन्तर्गत नेपाल उद्योग संघको संयोजक तथा केन्द्रिय सदस्यमा खगेन्द्र पौडेल, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको संयोजकमा तुलसी कंडेल र सदस्यमा कमल पौडेल, नेपाल राष्ट्रिय वाणिज्य संघको संयोजकमा पुनम शर्मा चयन भएका छन् । यसैगरी नेपाल लोकतान्त्रिक यातायात व्यवसायी राष्ट्रिय मंचको संयोजकमा भुपेन्द्र खड्का, नेपाल निर्माण उद्योग परिषदको संयोजक लोकेन्द्र के.सी, नेपाल होटेल तथा रेष्टुरेण्ट व्यवसायी संगठनको संयोजकमा यमुना राना र निर्माण सामग्री सम्वद्ध व्यवसायी संघ नेपालको संयोजकमा पूर्ण काउचा चयन भएका छन् ।
Previous Article२२ औं नगर परिषद्बाट पारित बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले प्रस्तुत गरेको आ.व. २०७४/०७५ को बजेट वक्तव्य
Next Article बालबालिकाको सिकाई बढाईने