बागलुङ पौष २८
पोखरा बागलुङ राजमार्ग निर्माणको क्रममा विस्तापित भएका बागलुङ नगरपालिका–१ बाङ्गेचौरका माझीहरुलाइ घर बनाएर स्थानान्तरण गरिने भएको छ । २०४८ सालमा सडक बनाउने क्रममा विस्थापित १४ घर माझीहरु बाङगेचउर स्थित सार्वजनिक स्थानमा टहरा बनाएर बसेका छन् । उनीहरुलाइ चालु आर्थिक बर्षभित्रै एकएकवटा घर बनाएर सारिने भएको हो । आफ्नो थातथलो छाडेर बस्न बाध्य उनीहरुलाइ भूकम्प प्रतिरोधी भवन बनाएर राख्नका लागि बागलुङ नगरपालिकाले ठेकेदारसँग बुधवार सम्झौता गरेको छ । ठेकेदार नारायण जिसी र नगरपालिका प्रमुख अधिकारीले बुधवार सम्झौतापत्र साटासाट गरेर काम शुरु भएको बताएका छन् । ८२ लाख ३० हजार रुपैयाँमा मुक्तिनाथ विएण्ड त्रिशक्ति संयुक्त निर्माण सेवाले प्रत्येकलाइ ३÷३ कोठाको घर बनाउने गरी लगानी गरेर विस्थापित माझीको घर बनाइसकिने योजना रहेको कार्यकारी अधिकृत युवराज अधिकारीले बताए । नगर बिकास कोषको ८० प्रतिशत अनुदान १० प्रतिशत ऋण र स्थानीय सहभागिताको १० प्रतिशतमा ती भवनहरु बन्नेछन् । लामो समयदेखि घरबास नभएर खोलामा माछा मार्ने, ढुंगा बोक्ने र गिटी कुटेर बसेका माझीहरुले घर पाउने भएपछि खुसी भएका छन् । ‘आफ्नै घरमा बस्न पाएमा हामीलाइ सार्वजनिक स्थानमा बस्न मन छैन, यो काम छिटै होला भन्ने आसा छ’ बानपा १ स्थित माझी बस्ती निर्माण समितिका राजु माझीले भने, ‘पटक पटक भनाइ खाने र अपहेलनामा परेका हामीलाइ सम्मानपूर्वक बस्ने अवसर जुट्ने भयो ।’ नगरपालिकाले गत परिषदमा गरेको निर्णय अनुसार दुइ बेड रुम, एक भान्सा र शौचालय सहितका घर बनाउने लक्ष छ । माझी बस्ती व्यवस्थापनका लागि स्थानीय अन्य जातका समुदायले पनि संघर्ष गर्दै आएका थिए । ‘हामीले पनि ठूलो मूल्य चुकाएर बजेट विनियोजन गरेका हौं’ माझी बस्ती व्यवस्थापन समितिका संयोजक केवी रानाले भने, ‘अव उनीहरुलाइ सुरक्षित रुपमा आफ्नै घरमा बसाल्न सफल हुनेछौं ।’ खानेपानी र विद्युतीकरणका लागि पनि भवन बनिसक्ने समय सम्म पहल गरिने उनले बताए । पुरानो थात थलो रहेको खनियावासमा उनीहरुलाइ आवास बनाइन लागिएको हो । नगरपालिकाको योजना अनुसार उक्त बस्तीमा एउटा सामुदायिक भवन समेत बन्ने भनिएपनि बुधवारको सम्झौतामा भने त्यो उल्लेख छैन । अव्यवस्थित बसाइकै कारण बाङगेचउरको खेलमैदान र कवर्डहल निर्माणमा पनि समस्या पर्दै आएको थियो । बस्ती व्यवस्थापनका लागि नगरपालिकाले १ रोपनी र स्थानीय कर्णबहादुर बोहरा, दिब्यधर आचार्य, कृष्णबहादुर केसी, शम्भु आचार्य र कौशिला आचार्यले १४ रोपनी जमिन निशुल्क उपलब्ध गराएका थिए । अव्यवस्थित बसोसासकै कारण खुला दिशा मुक्त क्षेत्र घोषणा भएर पनि माझी बस्तीमा सरसफाइको सन्देश समेत पुगेको थिएन । खानेपानी, विद्युत लगायतका न्युनतम सेवाले पनि गति लिन नसकेपछि व्यवस्थापन समिति र नगरपालिकाले केही बर्षदेखि पहल थालेको थियो । केवी रानाको अध्यक्षता, राजन शर्माको संचालनमा सम्पन्न सम्झौता कार्यक्रममा बुधवार भएको कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, कार्यकारी अधिकृत अधिकारी, नगरपालिकाकै योजना अधिकृत युक्तप्रसाद सुवेदी, ठेकेदार नारायण जिसी, इन्जिनियर त्रिलोचन गिरी र माझी बस्तीका राजु माझी लगायतले बोलेका थिए ।