अर्जुन कार्की
बागलुङ, २७ पौष – जिल्ला सदरमुकामको एक मात्र खेल मैदान बाङ्गेचौरको स्वरुप फेरिदैछ । जिल्ला खेलकुद विकास समिति बागलुङले यसवर्ष उक्त खेल मैदानमा पूर्वाधार निर्माण गरी सुविधा सम्पन्न बनाउन काम थालिसकेको छ । राष्ट्रिय खेलकुद परिषदबाट आर्थिक वर्ष २०७२/७३ अन्र्तगत बाङ्गेचौरको मर्मत सम्भारको लागि ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि मैदानको चारैतिर तारजाली गर्ने काम अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति बागलुङले जनाएको छ । ‘मैदान सुधारको लागि तारजाली लगाउने काम केड्ढ%स्ही दिनमा सम्पन्न हुँदैछ’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियाले भने– ‘तारजाली लगाउने काम सकिएपछि आगामी वर्षको जेठदेखि भाद्र महिनासम्म दुबो रोप्ने काम गरिने छ ।’ ‘पानी पर्दा खेल खेलाउन नसकिने र बढी घाम लाग्दा पनि खेलाउन नसकिने अवस्था सिर्जना भएको छ’ अध्यक्ष परियाले भने– ‘यस्तो समस्याको अन्त्य गर्न पहल भईरहेको छ ।’ बाङ्गेचौरलाई खेलका लागि उपयुक्त बनाउन सके आउटडोर खेलहरु सम्पन्न गरिन सकिने खेलकुद विकास समितिले आशा लिएको छ । बागलुङ जिल्ला खेलाडीको हिसाबले धनी रहेको बताउँदै परियारले भौतिक संरचना कै कारण खेल सम्पन्न गर्न कठिनाई र खेलाडीहरु उत्पादन गर्न नसकिएको बताए । खेल मैदानको सुधार भएपछि बागलुङ जिल्लाले खेलकुदमा फड्को मार्ने अध्यक्ष परियारको भनाई छ । बाङ्गेचौरमा स्कुल स्तरिय, कोकाकोला, रेडबुल कप लगाएतका फुटबल खेलका साथै विभिन्न क्लबहरुले क्रिकेट खेलहरु संचालन गर्दै आएका छन् ।
खानेपानी र शौचालयको व्यवस्था
मैदानमा धेरै खेल संचालन भएपनि हालसम्म खानेपानी र शौचालयको समस्या छ । उक्त समस्याको अन्त्य गर्न समितिले तत्कालै खानेपानीको ट्याङ्की निर्माण गर्ने योजना बनाएको छ । खानेपानीको समस्याको समाधान भएपछि खेल मैदानको वरीपरि ढलको व्यवस्था गरिने अध्यक्ष परियारले बताए । बाङ्गेचौरमा शौचालय नहुँदा सामुदायिक वन प्रयोग गर्दै आएका छन् खेलाडि र दर्शकहरुले । समितिले खेल मैदान परिसरमा शौचालय बनाएपनि उक्त शौचालयमा पानीको अभावमा प्रयोग हुन सकेको छैन । तारजालीको काम सम्पन्न भएपछि शौचालयमा पानीको व्यवस्था गरिने अध्यक्ष परियारले बताए । महिला खेलाडीलाई शौचालय र पोशाक परिर्वतन गर्न समस्या रहेको बताउँदै अध्यक्ष परियारले उक्त शौचालयको बीच भागबाट बारेर पोशाक परिर्वतन गर्ने कोठा बनाइने बताए ।
परिसरमा थप ३ मैदान बन्ने
बाङ्गेचौर खेल मैदानको तल्लेपट्टि रहेको खाली जग्गामा थप ३ वटा खेल मैदान बन्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषदबाट भलिवल कोर्टको लागि ५ लाख रुपैयाँ आएकोले उक्त स्थानमा मैदान बनाउन लागिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । ‘राष्ट्रिय खेलकुद परिषदबाट भलिबल कोर्टको लागि ५ लाख रुपैयाँ विनियोजित भएको छ’ अध्यक्ष परियारले भने– ‘उक्त रकमले भलिवल, बास्केटबल र हेण्डबल साथै गाडी पार्किङ्ग गर्ने स्थान बनाईनेछ ।’
राखेपबाट ९० लाखको बजेट
बागलुङमा खेलकुद मैदान सुधारको लागि आ.व. २०७२/७३ मा ९० लाखको बजेट विनियोजित भएको छ । ‘९० लाखको बजेट विनियोजित भएपनि हालसम्म जिल्ला खेलकुद विकास समितिलाई धेरै खेल मैदानको कामको लागि बजेट आएको छैन’ –अध्यक्ष परियारले भने– ‘हालसम्म ३ खेल मैदान सुधारको लागि ५/५ लाख विनियोजित भएपनि हालसम्म १ लाख २५ हजारको दरले बजेट प्राप्त भएको छ ।’ हाल बागलुङ बजारको बाङ्गेचौर, बुर्तिबाङ र गल्कोट उच्च माविको खेलकुद मैदानलाई बजेट आएकोले काम भइरहेको छ । हालसम्म अन्य खेलकुद मैदानलाई भनेर छुट्टाएको बजेट आउने नआउने निश्चित नभएकोले अन्यौल सिर्जना गरेको बताउँदै आफुहरुले पटक–पटक केन्द्रमा जानकारी गराइरहेको अध्यक्ष परियारले बताए । हाल बनाउन लागिएको पूर्वाधार अन्र्तगत तारजाली लगाउन ५ लाख आएपनि ८ लाख लाग्ने र भलिवल, बास्केटबल र हेण्डबल साथै गाडी पार्किङ्ग स्थलको व्यवस्था गर्दा समितिलाई झण्डै १५ लाख ऋण लाग्ने समितिका अध्यक्ष परियारले बताए । उक्त रकम सहयोगबाट संकलन गर्ने लक्ष्य समितिले लिएको छ । राष्ट्रिय खेलकुद परिषदले हाल खेलकुद विकास समितिको भवनको लागि आ.व. २०७२/०७३ मा १२ लाख विनियोजित गरेकोले रुद्रेपिपलमा रहेको कबर्ड हल बनाइने भएको छ । २०२७ सालमा निर्माण गरिएको टेबुलटेनिस हल २०७२ सालको भुकम्पले जिर्ण बनेकोले आ.व. २०७३÷०७४ मा उक्त हल भत्काई जिल्ला खेलकुद विकास समितिको भवन बनाउन लागिएको छ । नयाँ भवनको पहिलो तलामा जिल्ला खेलकुद विकास समितिको भवन बनाइने र माथिल्लो तलामा कबड हल बनाइने समितिले जनाएको छ ।
बाङ्गेचौरप्रति संजालको चासो
जातिय मुद्दासंगै धौलागिरीको फुटबल क्षेत्रको विकासमा अनवरत रुपमा क्रियाशिल दलित युवा संजाल बागलुङले बाङ्गेचौरमा संरचना निर्माण गर्न चासो देखाएको छ । धौलागिरीकै सर्वाधिक पुरस्कार राशीको दुई फुटबल प्रतियोगिता सम्पन्न गरेको संजालले मैदान समथर बनाउन ४ चार रुपैयाँ खर्च गरेको छ । मैदानलाई सुविधा सम्पन्न बनाउनको लागि विभिन्न समयमा संजालले आर्थिक सहयोग गर्दै आएको छ । माघ १ गतेदेखि शुरु हुने बागलुङ गोल्ड कप फुटबल प्रतियोगिता शान्त वातावरणमा सम्पन्न गर्नको लागि चौरमा लगाईएको तारजालीमा रंगरोगनको काम गरेको छ ।
Previous Articleपूर्ण सरसफाईको तयारीमा रेश गाविस
Next Article साना देशले ठूला देशबीच पक्ष लिन आवश्यक छैन-चीन