बागलुङ, २७ पौष – रेश गाविस वडा नं. ६ का प्रेमबहादुर कार्कीको घरमा सफा शौचालय छ । शौचालय गएर आएपछि साबुनपानीले हात धुने व्यवस्थापनि छ । गाउँलाइ पूर्ण सरसफाइ बनाउने अभियानका लागि कार्कीले शौचालय भित्र लगाउने छुट्टै चप्पलको व्यवस्था पनि गरेका छन् । शुद्ध खानेपानीको व्यवस्था, सधै पानी उमालेर मात्र खाने बानीको बिकास भएको छ । भाँडा धोएर सुकाउन बाँसको चाँङ बनाएका छन् । गाइभैसीको गोडको मलमुत्रलाइ उचित व्यवस्थापन गरिएको छ भने घरआँगनको सरसफाइमा पनि उत्तिकै ध्यान दिएको देखिन्छ । गाउँमा पुग्ने पाहुना वा अन्य कर्मचारीले कार्कीले गरेको मेहेनत देख्दा दंग पर्छन् । यो अभियानमा कार्कीकी श्रीमती, छोराछोरीले पनि साथ दिएका छन् । घरभित्र सुधारिएको चुलो छ । धुँवालाइ घरभित्र रहन नदिएपछि भान्सामा खाना पकाउने महिलाहरुको स्वास्थ्यमा पनि उल्लेख्य सुधार आएको परिवारका सदस्यले बताए । खानेपानीको मुहानमै शुद्धता परिक्षण गरिएको छ । ‘गाविसका १ हजार ७३ घरमै शुद्ध खानेपानी, पक्की शौचालय र आनीवानीमा समेत परिवर्तन आएकोले पूर्ण सरसफाइ युक्त घोषणा गर्ने तयारी भैरहेको छ’ खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख पूर्णप्रसाद उपाध्यायले भने, ‘गाउँ र जिल्ला तहको सरसफाइ तथा स्वच्छता समन्वय समितिले पूर्ण रुपमा घोषणा गर्न योग्यछ भनेर प्रतिवेदन दिएमा तत्कालै पनि घोषणा गर्न सक्छौं ।’ गाउँ र जिल्ला तहका समितिले अनुगमन समेत गरिसकेका छन् । सोमबार र मंगलवार जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत खेम विकको नेतृत्वमा गएको टोलीले सबै वडाका सबै टोलबाट प्रतिनिधि घरमा पुगेर तोकिएका सूचक पुरा भए नभएको अध्ययन समेत गरेको थियो । तोकिएका सूचक पुरा गर्ने क्रममा केही कमीकमजोरी देखिएमा आवस्यक सुझाव दिएको वास इन्जिनियर बिबेक सापकोटाले बताए । ‘यस अघि पनि नेवाले गाविसभर खानेपानीको व्यवस्था र शुद्धता नाप्ने काममा समेत सहयोग गरेको थियो’ सापकोटाले भने, ‘जिल्लाकै पहिलो गाविसको रुपमा घोषणा गर्नका लागि तयारी भएपछि स्थानीयलेपनि सहयोग गरेका छन् । यो अभियानका लागि सामाजिक उत्प्रेरक, परिचालक लगायतको टोलीले सबै घरधुरीको तीन÷तीनपटक सम्म भ्रमण गरेर आवस्यक सल्लाह र सुझाव समेत दिइसकेका छन् । सबै घरमा स्वच्छ खानेपानी पुगेको, सबैघरका बालबालिका देखि वृद्ध सम्मले सरसफाइ र स्वच्छता बारे जानकारी पाइसकेको अवस्था पुगेमा घोषणा गर्न सकिने प्रावधान पनि छ । ‘गाविस भरका सार्वजनिक स्थान, गाविस कार्यालय, सबै विद्यालय, मठमन्दिरमा समेत सरसफाइको अवस्थालाइ सुछ्म ढंगले अध्ययन गरेर फर्केका छौं’ बिकले भने, ‘अव संयुक्त छलफलबाट आएको निष्कर्षबाट थप सल्लाह सुझाव दिएर घोषणाका लागि अन्तिम तयारी गर्न आग्रह गर्छौ ।’ केही विद्यालय र टोलमा प्लाष्टिकको पूर्ण व्यवस्थापन गर्ने काममा आनीबानी परिवर्तन नभएको देखिएको उनले बताए । तुलनात्मक रुपमा सरसफाइमा रेश गाविस धेरै अगाडि बढीसकेको पनि उनले बताए । गाविस तहमा सबै बालबालिकाले खोप लगाएको, अन्य प्रकारका सरसफाइ र स्वास्थ्य सेवामा पनि सचेत भएको पाइएको समेत गाविस सचिव चुर्णबहादुर काकीले जानकारी दिए । यो अभियानबारे सबै महिला स्वास्थ्य स्वयंसेविका, अन्य सामाजिक कार्यकर्ता, घरघरका बासिन्दालाई समेत सचेत बनाइएकोले घोषणाले अन्तिम रुप लिएको सरोकारवालाको भनाइ छ । यसअघि लेखानी, हरिचौर लगायतका केही गाविसमा वडा तहमा पूर्ण सरसफाइको घोषणा गरिएपनि गाविसलाई नै घोषणा गर्न सकिने पहिलो अवसर भएको पनि उपाध्यायको भनाइ छ । केही बर्षअघि जिल्लामा खुल्ला दिशामुक्त घोषणाका लागि पनि गाउँ र जिल्ला समन्वय समिति, नेवा, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना लगायतले काम गरेका थिए । उक्त अभियानपछि सन् २०१७ भित्र सबैलाइ स्वच्छ पानी खुवाउने र सरसफाइको नमूना बनाउने गरी काम भैरहेको जिविसका वास परियोजना अधिकृत बिष्णुप्रसाद शर्माले बताए ।