काठमाडौँ, २७ पुस – चीनले बुधबार एसिया प्रशान्त क्षेत्रको सुरक्षाको सवालमा एक श्वेतपत्र जारी गर्दै क्षेत्रीय स्थायित्वको लागि शीतयुद्धकालीन मानसिकता त्याग्न आग्रह गरेको छ। चीनको स्टेट काउन्सिलले ‘एसिया प्रशान्त सुरक्षा सहकार्यमा चीनको नीति’ नामक श्वेतपत्र जारी गरेको हो। सो नीतिमा विकासको प्रबद्र्धन, साझेदारी निर्माण, बहुपक्षीय सम्बन्धमा सुधार, नियम निर्माण, सैन्य सहयोग र मतभेदको अन्त्यजस्ता कुराहरुलाई समेटिएको छ।
एसिया प्रशान्त क्षेत्रका मुख्य देशहरुलाई चीनले अरुको वैधानिक स्वार्थ तथा चासोको सम्मान गर्दै सकारात्मक अन्तक्र्रियालाई बढावा दिन पनि आग्रह गरेको छ। ‘साना र मध्यम राष्ट्रहरुले ठूला राष्ट्रहरुहरुको बीचमा पक्षविपक्ष लिनुपर्ने आवश्यकता छैन,’ चीनले श्वेतपत्र मार्फत भनेको छ, ‘सबै राष्ट्रहरुले मुकाबला होइन संवादको प्रणालीमा योगदान दिनुपर्छ।’
कुनै एक देशको आदेशभन्दा सम्बन्धित सबै देशका छलफलबाट बन्ने अन्तर्राष्ट्रिय वा क्षेत्रीय कानुनलाई आफूले समर्थन गर्ने पनि चीनले स्पष्ट पारेको छ। कुनै निश्चित देशको नियम स्वतः अन्तर्राष्ट्रिय नियम बन्न नहुने चीनले श्वेतपत्रमार्फत स्पष्ट पारेको ग्लोबल टाइम्सले जनाएको छ।
त्यस्तै चीनले एसिया–प्रशान्त क्षेत्रमा सैन्य सहयोग र सहकार्य बढाउने र त्यसले सो क्षेत्रमा शान्ति र स्थायित्व निम्त्याउने पनि जनाएको छ। चीनको अन्तर्राष्ट्रिय अवस्थाअनुरुपको बलियो रक्षा शक्ति निर्माण गर्ने कुरा पनि स्पष्ट पारेको छ।
‘चीनको सुरक्षा र विकासको चासो नै रणनीतिक कार्य पनि हो र चीन यसको शान्तिपूर्ण विकासको सुनिश्चितता गर्छ। चीनको सशस्त्र शक्तिले देशको विकासलाई समर्थन गर्छ र विश्व शान्ति तथा क्षेत्रीय स्थायित्वका लागि योगदान दिन्छ,’ श्वेत पत्रमा भनिएको छ।
विवादहरुलाई शान्तिपूर्ण रुपमा छलफलबाट हल गरिने र दक्षिण चीन सागरबाट जल तथा हवाई यात्राको स्वतन्त्रता कायम राख्ने पनि चीनले जनाएको छ।
चीन तथा आसियान राष्ट्रहरुले दक्षिण चीन सागरका बारेमा छलफल जारी राख्ने बताएको छ। यद्यपि सो क्षेत्रमा चीनको सार्वभौमिकता, अधिकार र चासोलाई हानी पु¥याउने जुनसुकै व्यवहारको ‘आवश्यक प्रतिउत्तर’ दिने पनि चीनले जनाएको छ। चीनले दक्षिण कोरियामा ‘एन्टी ब्यालिस्टिक मिसाइल’ तैनाथ गर्ने अमेरिकी र कोरियाली कदमको आलोचना गर्दै सो प्रक्रिया तुरुन्त रोक्न पनि आग्रह गरेको छ। एजेन्सी
Previous Articleबद्लिदै बाङ्गेचौर
Next Article किन सधैँ रोनाल्डो वर्षको सर्वोत्कृष्ट ?