काठमाडौं २६ पुस – फिफाको नियम बनाउने परिषद्ले मंगलबार सन् २०२६ को विश्वकपमा सहभागी हुने टिमको संख्या ४८ पुर्याएको छ । अब तीन/तीन टिमको १६ समूह हुनेछ । फिफाले आफ्नो वेबसाइटमा भनेको छ, ‘नियम बनाउने परिषद्ले सन् २०२६ को विश्वकपमा ४८ टिमले खेल्न निर्णय गरेको छ ।’ फिफाका अध्यक्षमा जियानी इन्फान्टिनो आएयता विश्व फुटबललाई लिएर आएको यो सबैभन्दा ठूलो निर्णय हो।
यस विवादास्पद निर्णयको प्रस्तावलाई लिएर फुटबलका प्रमुख पक्षले चर्को विरोध पनि आएका थिए । त्यस अनुसार बढ्दो टिमका कारण विश्वकपको स्तर खस्कने आरोप लागेको थियो । यस्तै खेलाडी पनि बढी थकान हुने बताइएको थियो । तर अध्यक्ष इन्फान्टिनोले यो निर्णयप्रति आफ्नो आत्मविश्वास देखाउँदै आएका छन् । उनले ठूलो संख्यामा सहभागी हुने टिमका कारण फिफालाई थप आर्थिक फाइदा हुने बताउँदै आएका छन् ।
यस निर्णयअनुसार फिफालाई रुसमा हुने अर्को संस्करणको विश्वकपमा ६४ करोड डलर फाइदा हुनेछ । अध्यक्ष इन्फान्टिनोले बढी टिमको सहभागिताको अर्थ फुटबल अझ लोकप्रिय हुने र विश्वकपले थप ठूलो महोत्सवको आकार दिने बताउँदै आएका थिए । उनको निर्णयको सबैभन्दा ठूलो समर्थकका रूपमा अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोना रहेका छन् । उनले विश्वकपमा ४८ टिमको अर्थ विश्वकपमा नयाँ देशको आगमन बढी सम्भावना मानेका छन् ।
नियमअनुसार अफ्रिका र एसियालाई बढी फाइदा हुनेछ । फिफा स्रोतका अनुसार नयाँ नियमअनुसार युरोपले विश्वकपमा १६ टिमको प्रवेश पाउने छ भने अफ्रिकाबाट ९ टिमलाई अवसर मिल्नेछ । सन् १९३० बाट सुरु भएको विश्वकपमा सहभागी हुने टिमको संख्या यो अहिलेसम्मकै उच्च हुनेछ । उरुग्वेमा सम्पन्न पहिलो विश्वकपमा १३ टिमको सहाभागिता थियो । सन् १९८२ मा विश्वकप सहभागी संख्या बढाएर २४ पुर्याइएको थियो । यस्तै सन् १९९८ को विश्वकपमा ३२ टिम पुगेको थियो ।
Previous Articleयसरी देखियो पूर्वराजाको आक्रोश, चिन्ता र लोभ
Next Article बैंकको सीईअाे र अध्यक्ष दुई कार्यकालका लागि मात्रै