काठमाडौं २६ पुस – पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी राजदरबार छोड्नुको कारण खुलाउँदै भनेका छन्, ‘नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालीक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं।’
पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ को अघिल्लो दिन विज्ञप्ति जारी गर्दै उनले ‘जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं’ भन्दै आफ्नो राजनीतिक अन्तर्य प्रकट पनि गरेका छन्।
‘यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नू हामी सबै देशभक्त नेपालीका लागि गम्भीर चिन्ताको विषय बनेको’ भन्दै उनले ‘चार वर्ण छत्तीस जातको साझा फूलबारीको रूपमा रहेको यस मुलुकका शान्तिप्रिय जनताबीचको एकता बिथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्बल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेको’ समेत ठोकुवा गरेका छन्।
यसैगरी भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेकोमा चिन्ता व्यक्त गर्दै पूर्वराजा ज्ञानेन्द्रले ‘दशक नबित्दै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आइपुगेको’ ठहर समेत गरेका छन्।
तमाम समस्याहरुलाई समाधान गर्ने एउटा सूत्र पनि पूर्वराजाले आफ्नो विज्ञप्तिमा प्रस्तुत गरेका छन्। भनेका छन्, ‘देश कसैको क्रिडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचका साथ देशभक्त नेपालीहरूले एकतावद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ।’
विज्ञप्ति
यसरी देखियो पूर्वराजाको आक्रोश, चिन्ता र लोभ
Previous Articleसंविधान संशोधन विधेयक पारित हुँदैन-ओली
Next Article विश्वकप फुटबलमा अब ४८ टिम