झापा, २६ पुस – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक कुनै हालमा पारित नहुने दाबी गरेका छन् । मोफसलमै पहिलोपटक झापाको दमकमा निर्मित आकाशे पुलको मंगलबार उद्घाटन गर्दै ओलीले तराई र पहाड टुक्र्याउने गरी ल्याइएको संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने दोहोर्याए ।
उनले सरकारले लुकिछिपी संसदमा संशोधन विधेयक दर्ता गरेपनि त्यो पारित गरेर देखाउन चुनौती समेत दिए । ‘देशको अहित हुने विषयमा एमाले सहमत हुन सक्दैन्,’ उनले भने । हालको प्रदेश टुक्र्याएर हिमाल, पहाड र तराईंको आत्मियता भड्काउने गरी कसैको कुचेष्टा भए त्यस्तो सपना कसैले नदेख्न उनले सुझाउादै भने, ‘हिमालदेखि तराईसम्मको भूभाग टुक्र्याउने कुनै पनि बहाना हामीलाई स्वीकार्य छैन् ।’
संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै उनले अबको निर्वाचनबाट एमाले पुन: सरकारमा पुग्ने दाबी गरे । ‘एमालेले निर्वाचनसम्मका लागि सरकार छाडेको हो,’ उनले भने, ‘निर्वाचनपछि एमालेको सरकार बन्नेमा कसैले रोक्न सक्दैन ।’
उनले एक फरक प्रसंगमा अब देश विकासका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । विकासमा कसैले सौदाबाजी गर्नु हुँदैन ओलीले आफू नेतृत्वको सरकारले ल्याएका विकास निर्माणका योजनाहरुले गति लिँदै गएको धारणा राखे ।
आकाशे पुलको उद्घाटन
दमकमा एक करोड १४ लाख ४१ हजार ८६३ रुपैयाको लागतमा निर्मित पहिलो आकाशे पुलको विधिवत उद्घाटन गरिएको छ । आकाशे पुलको मंगलबार नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । आकाशे पुलको ओलीले नै गत वर्षको पुस १६ गते शिलान्यास गरेका थिए ।
पुल १७ फुट अग्लो, अढाई मीटर चौडा र २५ मीटर लामो रहेको छ । पुलको निर्माण निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको ७३ लाख २ हजार ५६३ र दमक नगरपालिकाको आन्तरिक स्रोतबाट ४० लाख ४८ हजार ८६३ रुपैया गरि कूल एक करोड १४ लाख ४१ हजार खर्च भएको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए ।
आकाशे पुल उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष ओलीसागै पूर्व कानुनमन्त्री तथा एमाले पोलिटव्यूरो सदस्य अग्नि खरेल, सांसद महेन्द्रकुमारी सुब्बा, झापाका स्थानीय विकास अधिकारी खेमराज ओझालगायतले बोलेका थिए ।
Previous Articleयतिवेला नेपाल निर्णयात्मक मोडमा
Next Article यसरी देखियो पूर्वराजाको आक्रोश, चिन्ता र लोभ