बागलुङ, २३ पौष – धवलागिरी बहुमुखी क्याम्पस आंशिक प्राध्यापक संघको संघका अध्यक्ष विष्णुप्रसाद चापागाईंको अध्यक्षतामा पुर्नगठन गरिएको छ । निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले कार्यव्यस्तताको कारण समय दिन नसक्ने व्यहोरा सचिवमार्फत जानकारी गराएपछि आंशिक प्राध्यापकहरुको शुक्रबार भएको भेलाले सो संघको पुर्नगठन गरेको हो । पुर्नगठित समितिको उपाध्यक्षमा श्यामप्रसाद शर्मा, सचिवमा सरोजराज पन्त, सहसचिवमा ज्ञानेन्द्र गौतम र कोषाध्यक्षमा सरस्वती शर्मा रहेका छन् । सो समिति ३५ सदस्यीय रहेको छ । निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले आफ्नो कार्यकाल गर्व गर्न लायक रहेको बताए । उनले भने, ‘धवलागिरीका आंशिक शिक्षकहरु निकै चलायमान रही प्राज्ञिक उन्नयन तथा संघर्षको मैदानमा खरो उत्रने खालका छन् ।’ नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद चापागाईंले अध्यक्षको गहु्रगो भारी बोकेको बताउँदै भने, ‘सबै विभागहरु आज पनि आंशिककै भरमा चलेका छन्, आंशिकलाई न्युनतम् पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन निकै अबेर भइसकेको छ ।’ क्याम्पसको गुणस्तरमा समेत यसले नकारात्मक असर पारेको बताउँदै चापागाईंले भने,‘आंशिक शिक्षक कोही व्यक्ति विशेषको समस्या नभएर क्याम्पस र विश्वविद्यालयको समस्या हो, यो समस्या समाधान नहुँदासम्म क्याम्पसको शैक्षिक गुणस्तर सुर्धान सकिदैन ।’ उनले आंशिक शिक्षकहरुको समस्या समाधानका लागि पहल गरिदिन पनि क्याम्पस प्रशासनसमक्ष आग्रह पनि गरेका छन् । धलवागिरीकै एक मात्र आंगिक क्याम्पस धवलागिरीमा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञानका विभागमा विभिन्न कक्षाहरु संचालनमा रहेका छन् ।