पर्वत, २३ पौष – नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन नेपाल) का केन्द्रीय महासचिव डिके ढुंगानाले नीजि विद्यालयको प्रतिस्पर्धा नेपालका सामुदायिक विद्यालय सँग नभई अन्तराष्ट्रिय शिक्षा सँगको प्रतिस्पर्धा भएको बताएका छन् । शुक्रबार प्याब्सन पर्वतको अधिवेशन उद्घाटनका अवसरमा पर्वत आएका ढुंगानाले सामुदायिक विद्यालय र नीजि विद्यालयहरुको सम्बन्धमा कुनै पनि प्रकारको अस्वस्थता सिर्जना गर्न नहुने बताउँदै सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै ढुंगानाले अहिलको आधुनिक तथा प्रविधियुक्त शिक्षाले नेपालमा आन्तरिक प्रतिस्पर्धा नभएर अन्तराष्ट्रिय शिक्षा सँग प्रतिस्पर्धा गर्ने मार्ग तर्फ उन्मुख बनाएको उनले बताए । नीजि विद्यालयमा अध्ययन गरेर मुलुकका युरोप अमेरिका लगायतका शहरहरुमा नेपाली विद्यार्थीले ठूलो फड्को मारेको बताउँदै नीजि विद्यालयको शिक्षा पद्धतिलाई अबमुल्यन नगर्न आग्रह समेत गरे । सरकारले नीजि विद्यालयहरुलाई सामुदायिक विद्यालय भन्दा फरक नजर हेर्ने गरेको प्रति आपत्ति समेत जनाए । उनले मुलुकका १० हजार नीजि विद्यालयमा ३ लाख भन्दा बढी शिक्षकहरुलाई रोजगारी दिएको बताउँदै सरकारले नीजि विद्यालयलाई शिक्षाको अंगको रुपमा हेर्नुपर्ने बताए । प्याव्सन पर्वतका अध्यक्ष हिमबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम पौडेल, जिल्ला शिक्षा कार्यालय पर्वतका झलक आचार्य प्याव्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठ, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, जिल्ला नागरिक सञ्जाल पर्वतका संयोजक राजेन्द्र पहाडी, शिवालय माविका प्राचार्य, भुपेन्द्र चापागाई, पुस्तक तथा स्टेशनरी व्यवसायी संघ पर्वतका अध्यक्ष रमेश पौडेल लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन सचिव रामकृष्ण रेग्मी र स्वागत उपाध्यक्ष बसन्तकुमार कर्माचार्यले गरेका थिए । सोही कार्यक्रमका अवसरमा विभिन्न नीजि विद्यालयमा रहेर लामो समय सम्म अध्यापन गराउँदै आएका शिक्षकहरुलाई पुरस्कृत समेत गरिएको थियो । प्याब्सन पर्वतको दशौ अधिवेशनले बसन्त कुमार कर्माचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । यस अघि उपाध्यक्ष रहेका कर्माचार्यलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । अधिवेशनले सवै पदाधिकारी सर्वसम्मत रुपमा चयन गराउने प्रयास राति अबेर सम्म जारी रहेको भएपनि अध्यक्ष बाहेक अन्य पदमा भने समाचार तयार पार्दाको समयसम्म सर्वसम्मतको प्रयास चलिरहेको छ । कर्माचार्य कुश्माबजारमा सञ्चालित कालीगण्डकी एकेडेमीका संस्थापक प्रिन्सिपल हुन् ।