म्याग्दी, २३ पौष – जिल्लाको सदरमुकाम बेनीमा शुक्रबार एक कार्यक्रमकाबीच दुईवटा हस्पिटल एक आपसमा गाभिएका छन् । बेनीको न्युरोडमा सञ्चालित बेनी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र धौलागिरि सञ्जीबनी स्वास्थ्य सहकारी संस्थामार्फत सञ्चालित निलगिरी अस्पताल बागलुङ गाभिएर निकट भविस्यमै एकिकृत सेवा सुरु गर्ने घोषणा गरेका छन् । निलगिरी अस्पतालका अध्यक्ष राम शर्मा र बेनी हस्पिटलका अध्यक्ष शिवकुमार श्रेष्ठले सम्झौता पत्रमा संयुक्तरुपमा हस्ताक्षर गरेपछि दुवै अस्पताल एकीकरण भएको घोषणा गरिएको थियो । धौलागिरि अञ्चलमा १ सय शैया क्षमताको सुविधासम्पन्न अस्पताल निर्माण गर्नेगरी धौलागिरिवासीलाई सेवा दिने दिर्घकालीन योजनाका साथ आफुहरुले दुई अस्पताल एकीकरण गरी अघि बढेको धौलागिरि सञ्जीबनी स्वास्थ्य सहकारीका सचिव रामबहादुर जिसीले बताए । उनका अनुसार, अस्पतालमा विशेषज्ञ सेवासहित प्रसुती, हाडजोर्नी लगायत जटिल खालका रोगको उपचार गर्ने तयारी गरिएको छ । निलगिरी अस्पताललाई आगामी दिनमा पर्वत र मुस्ताङ जिल्लामा समेत पु¥याउने र धौलागिरि अञ्चलकै ठूलो अस्पतालका रुपमा विकास गर्ने लक्ष्य लिइएको सचिव जिसीको भनाई छ । ५ वर्षे कार्ययोजना बनाई अगाडि बढाइएको निलगिरी अस्पतालमा हाल १ सय ६९ जना सञ्चालकहरु आबद्ध रहेको कार्यक्रममा जानकारी गराइएको थियो । सहकारीमार्फत सञ्चालित अस्पताल सञ्चालनका लागि सबै पक्षबाट सकारात्मक सहयोग आइरहेको जनाइएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठले स्वास्थ्य संस्था एकीकरण पश्चात् जनताले सुलभ रुपमा स्वास्थ्य सेवा पाउनुपर्ने बताए । उनले हस्पिटलले जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताउँदै दक्ष जनशक्तिलाई जिल्लामै बसेर सेवा गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन भएपनि जिल्लामा बस्ने वातावरण नभएको हुँदा त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा म्याग्दी जिल्ला अस्पतालका निवर्तमान अध्यक्ष चन्द्रकुमार केसी, जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्की बिखर्ची, म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष सुविन श्रेष्ठ र बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले मन्तव्य राखेका थिए । कार्यक्रममा बेनी हस्पिटलका अध्यक्ष शिवकुमार श्रेष्ठ र निलगिरि हस्पिटलका डाईरेक्टर डाक्टर गोविन्द जोशीले अस्पतालको बारेमा जानकारी गराएका थिए । कार्यक्रम धौलागिरि सञ्जीबनी स्वास्थ्य सहकारी बागलुङका अध्यक्ष राम शर्माको अध्यक्षता र बेनी हस्पिटलका प्रवन्ध÷सञ्चालक सुवासकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।